
हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पटाबाट खटिएको प्रहरीले उनलाई शुक्रबार ललितपुर महानगरपालिका-१९ लगनखेलबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा तामाङको योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मी मुसिकोट नगरपालिका-७ न्वारास्थित गंगा नामको होटल सञ्चालन गरी बस्ने बाग्लुङ बडिगाड गाउँपालिका-३ सिसाखानी घर भएकी ५८ वर्षीया गंगा भन्ने गोपाल कुमारी शेरचनको हत्या गरी गरगहना र नगद लुटपाट भएको खुल्न आएको छ ।
यसैगरी, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-९ फस्कोटमा विक्रम तामाङको श्रीमती बेली तामाङलाई २०७९ कात्तिक २७ गते राति धारिलो हतियार प्रहार गरी नगद तथा गहना डाँका गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तामाङले काभ्रेकै पनौती नगरपालिका-५ चौकोटस्थित ग्रिन हिल नेवा खाजा तथा खाना घरका सञ्चालक धर्म गोपाल श्रेष्ठलाई २०८१ साउन ३१ गते राति धारिलो हतियार देखाई नगद ४० हजार लुटपाट गरेको, बनेपा नगरपालिका-३ टनचोक डाँडा बस्ने ३२ वर्षीय लोप्चन लामाको घरमा २०८१ माघ ४ गते राति धारिलो हतियार देखाई मोबाइल ३ थान, नगद, गरगहना र धनमाल लुटपाट गरेको पनि प्रहरीले जनाएको छ ।
त्यसैगरी, बनेपा नगरपालिका-४ रेडक्रस टोल बस्ने ३० वर्षीय सुकान्त बम्जनको घरमा २०८१ माघ १३ गते राति धारिलो हतियार देखाइ सुनको गरगहना, नगद एवं धनमाल लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
तामाङलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।