
नेपाली मुलका विजय पौडेल क्यानडामा सांसद पदका लागि आधिकारिक रुपमा मनोनीत भएका छन् ।
पौडेल क्यानाडाको कन्जरभेटिभ पार्टीबाट हम्बर रिभर–ब्ल्याक क्रीक क्षेत्रमा संघीय सांसद पदका लागि आधिकारिक रूपमा मनोनीत भएका हुन् ।
उनी मनोनीत भएसँगै क्यानडामा रहेका नेपाली समुदायका बीचमा उनको पक्षमा माहोल बनाउन सुरु भएको छ ।
क्यानडामा उम्मेदवार चयन हुनका लागि सम्बन्धित पार्टीभित्र आन्तरिक भोट हुने गर्छ । सबै प्रक्रिया पूरा भएपछि आफूलाई कन्जरभेटिभ पार्टीले उम्मेदवारको रुपमा शुक्रबार अनुमोदन गरेको पौडेलले बताए । यससँगै अब उनले आगामी अक्टोबरमा हुने ठानिएको चुनावको क्याम्पेन सुरु गर्नेछन् ।
पौडेल एक नेपाली–क्यानाडियन उद्यमी र सामुदायिक अगुवा हुन्। नेपालको बर्दियामा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट सूचना व्यवस्थापनमा स्नातक गरेका थिए । त्यसपछि २०१० मा उनी क्यानाडा पुगेका थिए ।