
चितवनको भरतपुरमा १२९ जना भूमिहीन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ का ४ गरी १ सय २९ घरधुरीलाई आज (आइतबार) एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पूर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासीलाई जग्गा दिने विषयलाई राजनीतिकरण गर्न नहुने तर्क गरिन् ।
‘सुकुम्बासीलाई लालपूर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध देखिने छैन’, उनले भनिन्, ‘हामी नागरिकप्रति जिम्मेवार छौं । स्थानीय सरकार भरतपुर महानगर जिम्मेवार छ । कानून, विधि र ऐनअनुसार यो कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’
भरतपुरमा महानगरपालिकाको तथ्यांक अनुसार भूमिहीन दलित २ हजार ५२, भूमिहीन सुकुम्बासी ३ हजार ९ सय १७ र अव्यवस्थित ५ हजार २ सय ३७ गरी ११ हजार २ सय ६ जना सुकुम्बासी घरधुरी रहेका छन् ।