
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले गणतन्त्र र संविधान रक्षाको पक्षमा उभिन परिवर्तन पक्षधरसँग आग्रह गरेको छ । एमालेले राजतन्त्रकालमा स्वतन्त्रता खोस्न खोजिएका प्रयासको तुलनात्मक अध्ययन गर्न युवाहरूसँग आग्रह गरेको छ ।
सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै गणतन्त्र विरोधी चलखेलको विरुद्ध चनाखो रहन आग्रह गरेको हो ।
मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनैपनि प्रयास सफल हुन सक्दैनन् भन्ने निष्कर्षसहितको विशेष प्रस्ताव पारित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘२१औं शताब्दीमा जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस, हास्यास्पद, हानिकारक र निरर्थक भन्नेमा विशेष जोड दिन चाहन्छौं’, एमालेको प्रस्तावमा भनिएको छ, ‘हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ ।’
उपमहासचिव ज्ञवालीले जनतालाई जागृत गर्ने कुरामा आफूहरू लागेको र आवश्यक परे जनपरिचालन गर्न सकिने बताए । राजावादीका गतिविधि बढेपछि एमालेले सचिवालय बैठकमार्फत् छलफल गरेर विशेष प्रस्ताव पारित गरेको हो ।

