
सरकारले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए । थापालाई सरकारले प्रहरी नियमावली, २०७१ लाई टेकेर आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख थिए । प्रतिस्पर्धामा रहेका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले बाजी मारेका हुन् । अब थापाले २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्ने छन् ।
कुँवरकै ब्याचका थापा वैकल्पिक टोलीका रूपमा २०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । २०७९ फागुन २६ मा एआईजीमा सिफारिस भएका थापालाई चैत ६ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।
को हुन् थापा ?
भक्तपुर घर भएका थापा फिल्ड कमान्ड र अपरेसनमा अनुभवी अधिकृतको रूपमा चिनिन्छन् । इन्स्पेक्टरको बेसिक तालिम सकेपछि इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रमुख भएर उनले काम गरे।
नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायलमा पनि काम गरेको अनुभव थापासँग छ । सशस्त्र द्वन्द्वमा थापाले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरेका थिए । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा काम गरेका थापाले इन्स्पेक्टर दर्जामै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरे ।
लोकान्तर डट्कमले थापा नै आईजीपी बन्नेबारे आइतबार नै समाचार ब्रेक गरेको थियो ।
यो पनि पढ्नुहोस्- BREAKING : दीपक थापा प्रहरी प्रमुख बन्ने लगभग पक्का
डीएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय खोटाङको २ वर्षसम्म कमान्ड गरेका उनले बाबुराम भट्टराई हुँदा प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार र प्रहरी वृत्त महाराजगञ्जको प्रमुखको रूपमा काम गरेका थिए ।
महाराजगञ्ज वृत्तमा १९ महिनासम्म कमान्ड गरेका थापाले इलाका प्रहरी कार्यालय बुटवलमा पनि इन्चार्ज भए काम गरे । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा काम गरेको अनुभव थापाँग छ ।
एसपीमा बढुवा भएपछि थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर कार्यालय, बुटवलमा रहेर प्रहरी प्रमुखको रूपमा गरे । एसपीमै रहँदा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी मुख्यालयको बजेट शाखामा रहेर थापाले काम गरे ।
एसएसपी बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को प्रमुख भएर काम गरेका थापाले डीआईजीमा बढुवा भएपछि प्रबन्ध निर्देशनालय, बागमती प्रदेश प्रहरी प्रमुख रहेर काम गरेको अनुभव सँगालेका छन् ।
थापाले एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी प्रमुख र सीआईबी प्रमुख भएर उनले काम गरे ।