२४ असार २०८३, बुधबार

असुरक्षित बन्दै विराटनगर, क्यासिनोमा ‘गुण्डाहरू’कै झडप

चैत ४, २०८१
विराटनगर
असुरक्षित बन्दै विराटनगर, क्यासिनोमा ‘गुण्डाहरू’कै झडप

विराटनगरको बसपार्कमा रहेको सम्राट क्यासिनोमा विराटनगरका विवादस्पद व्यक्तिको समूहबीच झडप भएको छ । नेकपा एमाले मोरङका जिल्ला सदस्य किरण लामा क्यासिनोमा प्रवेश गर्न खोजेपछि गएराति झडप भएको हो । 

क्यासिनो सञ्चालक अभिषेक गिरीका भतिजा निकेश गिरीले लामासहितको समूहलाई प्रवेशमा रोक लगाएपछि दुई समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । 

यसअघि पनि लामासहित विराटनगरका रेगन कँडेलको समूह रत्ना होटलभित्रको सम्राट क्यासिनोमा जाने गरेका थिए। भित्र प्रवेश गरेर क्यासिनो खेल्न आएका व्यक्तिहरूमाथि हातपात गर्न थालेपछि लामासहितको टोलीलाई क्यासिनो सञ्चालकले रोकेको स्रोतले बतायो । 

नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरिएको भए पनि उनीहरूसहित विराटनगरका केही मारवाडी समुदाय र स्वास्थ्य क्षेत्रका व्यक्तिहरू नियमित रूपमा विराटनगरको क्यासिनो जाने गरेका छन् । 

‘आइतबार मध्यरातमा लामासहित कँडेल र उनका साथीहरू सम्राट क्यासिनोमा प्रवेश गर्न खोज्दा क्यासिनोमा कार्यरत निकेशले गेटमा रोकेछन् । निकेश भने दोहोरी साँझका म्यानेजर पनि हुन् ।  काकाको क्यासिनोमा उनले नै रेखदेख पनि गर्दा रहेछन् । लामाले एक मुक्का हाने । लगत्तै गिरीका साथीहरू पनि प्रतिकारमा उत्रिए’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने । 

उनीहरूबीच कुटाकुट भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक राजेश दत्तको टोली पुगेको थियो । उनीहरूको टोलीले भिडलाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी, नारायण चिमरिया र वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठसहित क्यासिनोमा पुगेका थिए । झडपमा परेर लामा र गिरी दुवै जनालाई चोट लागेको प्रहरीले जनाएको छ । 

क्यासिनो सञ्चालक गिरीले लामाविरुद्ध मोरङ प्रहरीमा सोमबार उजुरी दिएका छन् भने कँडेलकी श्रीमतीले पनि गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । दुवै जाहेरी र घटनाको विषयमा अनुसन्धान शुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता, डीएसपी बेद प्रकाश जोशीले जानकारी दिए । 

‘क्यासिनोबाहिर दुई समूहको झगडा भएको रहेछ । त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले हामीले घटनाको सीसीटीभीलगायतका विभिन्न पक्षबाट अनुसन्धान गरिरहेका छौं’, डीएसपी जोशीले भने। प्रहरीले यो घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । गिरीले भने सीसीक्यामराको फुटेज दिन बाँकी रहेको बताइएको छ । 

रेगन कँडेल क्यासिनोभित्र र बाहिर पटक–पटक झगडामा मुछिने गरेका छन् । यसअघि पनि कँडेलले तरबार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका थिए। विराटनगर–११ बसपार्कमा राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर–१२ का विजय कामतलाई तरबार प्रहार गरेर घाइते बनाएका थिए । 

कामतको त्यसबेला हातमा गहिरो चोट लागेको थियो । प्रहरीले रातिमै कँडेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाएको थियो ।  उनी अदालतबाट धरौटीमा रिहा भएका थिए  । 

यसअघि पनि मध्यरातमा विराटनगर सम्राट क्यासिनोमा जुवा खेलेर बाहिरिँदा झगडा हुँदा उनी घाइते भएका थिए । २०८० पुस २६ गते क्यासिनोबाट निस्किएर झगडा हुँदा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए । पछि थपलियालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका थपलिया पनि अदालतबाट धरौटीमा छुटेका थिए । अपहरण मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटेका थिए ।

किरण लामा एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य हुन् । केही दिन अगाडि सम्पन्न एमालेको १०औं जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षकै साझा उम्मेदवार बनेका थिए लामा । लामा पर्शुराम बस्नेतको समूहबाट उदाएका हुन् । तर, अहिले भने बस्नेत र लामाको सम्बन्ध बिग्रिसकेको उनीनिकटका नेताहरू बताउँछन्  । 

गुण्डागर्दीमा संलग्न भएको आरोप लागिरहने उनी ‘कोशी सुधार अभियान’ पनि सञ्चालन गर्छन् । कारागारमा हुँदा नाइके भएका गिरी पटकपटक विवादमा आएका थिए । कारागारबाट छुटेपछि पनि विवादमा आइरहेका छन् ।

विराटनगरको क्यासिनोमा निर्वाध नेपाली
विराटनगरका दुई वटा क्यासिनोमा नेपालीहरू निर्वाध रूपमा प्रवेश गरिरहेका छन् । विराटनगरस्थित होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रालि (क्यासिनो) र रत्ना होटलभित्रको सम्राट क्यासिनोमा नेपालीहरूको प्रवेश खुलमखुल्ला हुने गरेको छ । 

नेपालीलाई क्यासिनो प्रवेशमा निषेध गरिए पनि विराटनगरका स्वास्थ्य क्षेत्र, मारवाडी समुदायका केही व्यक्तिहरू नियमित क्यासिनो जाने गरेका छन् । ‘प्रहरीले कडाइ नगर्दा स्वास्थ्य क्षेत्रका व्यक्तिदेखि मारवाडी समुदायका युवा व्यवसायी र मधेसी समुदायका व्यापारिक घरानाका युवा क्यासिनो जाने गरेका छन्’, नियमित क्यासिनो जाने एक व्यक्तिले भने, ‘सार्वजनिक रूपमा क्यासिनोले डुबायो भन्न सक्ने अवस्था पनि छैन । नभन्दा पनि क्यासिनोमा गएर पैसा सकियो । व्यापार चौपट भयो।’

मेसिनबाट खेलाउनुपर्ने क्यासिनोमा तास र कौडाको रूपमा हातैले खेलाउने गरेको बुझिएको छ । क्यासिनो नियमावलीमा स्वचालित मेसिनमा मात्रै खेलाउन पाइने उल्लेख छ ।

रत्ना होटलभित्र रहेको सम्राट क्यासिनोका सञ्चालक अभिषेक गिरीले भने क्यासिनोमा नेपाली नआएको दाबी गरे । ‘क्यासिनोमा कार्यरत नेपाली छन् । उनीहरू नै भित्र जाने हुन्  । तर, खेल्नका लागि हामी नेपाली छिराउँदैनौं । आधार कार्डवाला मात्रै छिराउँछौं’, उनले भने।

क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरबापत १० लाख रूपैयाँ बुझाउनुपर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रूपैयाँसहित विभागमा निवेदन दिनुपर्छ।

इजाजतपत्र दस्तुरका लागि भने ठूला क्यासिनोका लागि २ करोड रूपैयाँ र साना क्यासिनोका लागि एक करोड रूपैयाँ लाग्ने व्यवस्था सोही नियमावलीमा गरिएको छ ।

चार महिनादेखि विराटनगर असुरक्षित 
प्रहरी अधिकारीहरूकै अनुसार विगत चार महिनादेखि विराटनगर असुरक्षित देखिएको छ । ‘आपराधिक गतिविधिमा संलग्न भएकाहरूलाई नियन्त्रण लिए पनि दुई घण्ट नबित्दै छुटाउनका लागि नेताहरूको फोन आउँछ’, मोरङ प्रहरीका एक अधिकृतले भने, ‘अनि कसरी नियन्त्रण हुन्छ ?  यही अवस्था रहिराखे विराटनगरमा गुण्डागर्दी फेरि मैलाउने देखिन्छ ।’ 

अपराधमा संलग्नलाई छुटाउन गृह मन्त्रालयदेखि मुख्यमन्त्रीसम्मको फोन आउने गरेको ती अधिकारीले बताए  । स्ववियु चुनावमा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई विद्यार्थीबीच भएको विवाद र झडपलाई लिएर समेत गृहबाट फोन आएको ती प्रहरी अधिकारी बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्