०७ साउन २०८३, बिहीबार

युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्री देउवाको अनुरोध

चैत ५, २०८१
काठमाडौं
युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्री देउवाको अनुरोध

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । 

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच मंगलबार भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल-युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा. देउवाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उनीमार्फत् युक्रेन सरकारसँग आग्रह गरिन् । 

नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहेपनि मानव तस्करमार्फत् नेपालीलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको मन्त्री डा. देउवाले स्पष्ट पारिन् । 

उनले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रूपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी हुन् । 

उनीहरूलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन् । 

भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानूनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा मन्त्री डा. देउवाले नेपालले सन् २०२७ देखि २०२९ का  लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि पनि आग्रह गरिन् । 

यसैबीच यस भेटका क्रममा दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्