२२ जेठ २०८३, शुक्रबार
मारमा उद्योगधन्दा

उद्योगमा दिनकै १४ घण्टासम्म लोडसेडिङ, सर्वसाधारणको घरमा पनि लाइन काटिने जोखिम

चैत ५, २०८१
काठमाडौं
उद्योगमा दिनकै १४ घण्टासम्म लोडसेडिङ, सर्वसाधारणको घरमा पनि लाइन काटिने जोखिम

आइतबारदेखि भारतबाट दैनिक १२ घण्टा मात्र विद्युत आयात हुन थालेपछि औद्योगिक क्षेत्रमा १२ देखि १४ घण्टा लोडसेडिङ शुरू भएको छ ।

नेपालले मार्च १५ सम्म भारतबाट दैनिक २० घण्टा विद्युत् आयात गरिरहेकोमा उक्त सम्झौता नवीकरण नभएपछि सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्र विद्युत आउन थालेको छ ।

यसअघि नै औद्योगिक क्षेत्रमा ८ घण्टाभन्दा बढी लोडसेडिङ हुने गरेको थियो । पछिल्लो समय आफ्ना उद्योगहरूमा १४ घण्टासम्म विद्युत नआएको उद्योगीहरूले बताएका छन् ।

हिउँदमा नदी तथा खोलामा पानीको बहाव घट्दा आन्तरिक उत्पादन कम हुने र मागको अनुपातमा विद्युत आपूर्ति नपुग्ने भएकाले भारतबाट आयात गरिँदै आएको थियो ।

गत मंसिरमा भारतले मार्च १५ सम्म दैनिक २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवरमा मात्र आयात गर्न अनुमति दिएको थियो ।

नेपाल विद्युत प्राधिकरणले मार्च १६ पछि पनि २० घण्टा विद्युत आयात गर्न दिन भारतलाई आग्रह गरेको छ, तर यो विचाराधीन अवस्थामा रहेको प्राधिकरणका एक कर्मचारीले बताए ।

'भारतसँग सकारात्मक छलफल भइरहेको छ । अझै केही वर्षसम्म हिउँदमा भारतबाटै विद्युत आयात गर्नुपर्ने बाध्यता छ,' प्राधिकरण स्रोतले भन्यो ।

हाल नेपालको आन्तरिक माग १९०० मेगावाट रहेकोमा हिउँदमा स्वदेशी उत्पादन १ हजार मेगावाट मात्र छ ।

बाँकी माग पूरा गर्न औसत ५०० मेगावाट विद्युत आयात गरिएको छ । सोलार आवरमा मात्र विद्युत आयात भएमा औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।

'स्वदेशी उत्पादन सुख्खायामका कारण निरन्तर घट्दो छ । अहिलेसम्म भारतबाट विद्युत आइरहेकाले औद्योगिक क्षेत्रमा केही घण्टा मात्र लोडसेडिङ गरेर व्यवस्थापन गरिएको थियो,' प्राधिकरणका एक कर्मचारीले लोकान्तरसँग भने ।

यसैबीच, नेपाल विद्युत प्राधिकरण र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडबीच हिउँदमा २२० मेगावाट विद्युत खरिद सम्बन्धमा भएको सहमतिलाई हालसम्म स्वीकृति नदिइएका कारण थप विद्युत आयात अनिश्चित बनेको छ ।

पछिल्लो समय नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा विद्युतको भाउ १ दशमलव ५ प्रतिशत बढाउने सहमति भएको विषयमा पनि प्रश्न उठेको थियो ।

यसअघि सोलार आवरमा मात्रै विद्युत् आयात गर्नेगरी गरिएको सम्झौता नवीकरणको म्याद गत जुनको अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले १९ नोभेम्बरमा यो सम्झौता नवीकरण गरेको थियो ।

त्यसबेला उसले सम्झौता नवीकरण गर्दा १५ मार्चसम्म दैनिक २० घण्टा र त्यसपछि ३० जुनसम्म सोलार आवरमा मात्रै विद्युत् दिने व्यवस्था गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगमा १२ घण्टाभन्दा बढी लोडसेडिङ शुरू भइसकेको बताए । 'गोरखापत्रमै सूचना निकालेर अब लोडसेडिङ हुँदैन भनेको प्राधिकरणले उद्योगहरूमा अघोषित लोडसेडिङ गर्दै आएको छ । भारतबाट सोलार आवरमा मात्र विद्युत आएपछि सबैभन्दा पहिला उद्योगलाई टार्गेट गरिएको छ । अहिले कहीँ १२ त कहीँ १४ घण्टासम्म लोडसेडिङ हुन थालेको छ,' मुरारकाले लोकान्तरसँग भने ।

लोडसेडिङले उद्योग र व्यापार संकटमा, विराटनगरका उद्योगी आक्रोशित

विराटनगरका उद्योगीहरूले औद्योगिक क्षेत्रमा विद्युत् संकट गहिरिँदै गएको गुनासो गरेका छन् । विशेषगरी फागुनदेखि वैशाखसम्मको महत्त्वपूर्ण व्यापारिक मौसममा लोडसेडिङको असर गम्भीर रूपमा परिरहेको उनीहरूको भनाइ छ ।

उद्योगी पवन सारडाका अनुसार अब दैनिक १४ घण्टासम्म लोडसेडिङ हुन सक्ने खतरा बढेको छ ।

‘उद्योगहरूको उत्पादन क्षमता अत्यधिक घटेको छ,’ उनले भने, ‘यसले उत्पादन लागत वृद्धि गरेको छ र प्रतिस्पर्धात्मक बजारमा उद्योगीहरूलाई अप्ठ्यारोमा पारेको छ ।’

उद्योगीहरूका अनुसार फागुनदेखि वैशाखसम्म व्यापारिक सिजन हो ।

‘मुख्य सिजनमै लोडसेडिङ बढाइएको छ । मागको समयमै उद्योगहरूले आवश्यक सामग्री बेच्न नपाउने अवस्था आएको छ, जसले व्यापारमा गम्भीर संकट निम्त्याएको छ,’ सारडाले बताए ।

छड, सिमेन्ट र प्लास्टिक उद्योग प्रभावित

लोडसेडिङका कारण विशेषगरी प्लास्टिक, सिमेन्ट र फलाम उद्योगहरू नराम्ररी प्रभावित भएका छन् । सारडाका अनुसार यस्ता उद्योगमा उत्पादन प्रक्रिया शुरू गर्नुअघि ३–४ घण्टा मेसिन तताउनुपर्ने हुन्छ ।

‘चार घण्टा तताएर उपकरणलाई आवश्यक तापक्रममा पुर्‍याउँदा नै आधा समय बितिसक्छ, अनि बाँकी ८ घण्टामा मात्र उत्पादन गर्नुपर्छ,’ उनले भने ।

उद्योगी नवीन रिजालले नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनलाई प्रश्न गरेका छन् ।

‘पहिले अघोषितरूपमा बिहान २ घण्टा र बेलुका २ घण्टा लोडसेडिङ हुन्थ्यो । भारतबाट लाइन आउँदा अवस्था सहज थियो,’ उनले भने, ‘तर नेपाल विद्युत् प्राधिकरणले स्पष्ट बोल्दैन र लोडसेडिङमुक्त देश भनेर झुटो दाबी गर्छ ।’

रिजालका अनुसार आन्तरिक उत्पादनले माग धान्न नसक्ने भएकाले सरकारले विद्युत् उत्पादनमै जोड दिनुपर्छ ।

‘९–१० रुपैयाँ प्रतियुनिट लाग्ने ठाउँमा अहिले ४० रुपैयाँभन्दा बढी खर्च भइरहेको छ,’ उनले भने, ‘लोडसेडिङका कारण डिजेलको प्रयोग बढेको छ, जसले देशको विदेशी मुद्रा सञ्चिति घटाउँदै लगेको छ ।’

औद्योगिक क्षेत्रका व्यवसायीहरूले मौसमी मागअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गर्न, आन्तरिक उत्पादन बढाउन र उद्योगहरूका लागि छुट्टै विद्युत् लाइनको व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन् ।

बुटवल औद्योगिक क्षेत्र पनि लोडसेडिङको मारमा  

पछिल्लो समय १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन थालेपछि बुटवलका उद्योगीहरू पनि आक्रोशित बनेका छन् ।

'भारतबाट विद्युत आयात कटौती भएदेखि नै यहाँ लोडसेडिङ बढ्न थालेको छ,' एक उद्योगीले भने, 'पहिला ८/१० घण्टा हुन्थ्यो भने अहिले १२ घण्टाभन्दा बढी हुन थालेको छ ।'

लोडसेडिङले विशेषगरी सिमेन्ट, इस्पात र अन्य प्रशोधन उद्योगमा ठूलो असर पारेको छ । यस्ता उद्योग सञ्चालन गर्न मशिन तताउन मात्र ३–४ घण्टा लाग्ने उद्योगी बताउँछन् ।

त्यसमाथि सिमेन्ट र छडको मूल्य यसै पनि बढिरहेको सन्दर्भमा लोडसेडिङका कारण थप मूल्यवृद्धि हुने उनको भनाइ छ । भैरहवा–परासी औद्योगिक कोरिडोरमा सञ्चालित गोयन्का स्टील उद्योगका सञ्चालक अमित गोयन्काले गएको आइतबारदेखि १२ घण्टासम्म लोडसेडिङ हुन थालेको बताए ।

गोयन्काले भने, ‘लोडसेडिङ हुने भनेर समाचार आएपछि राति ७ बजेदेखि बिहान ७ बजेसम्म लाइन छैन, यसले औद्योगिक क्षेत्रमा ठूलो संकट निम्तिने देखिन्छ ।’ उनले थपे, ‘ठूला उद्योगलाई जेनेरेटरले थेग्दैन, राज्यले बिजुली पर्याप्त प्रयोग गर्नुस् भन्छ । १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन थालिसक्यो ।’

यता बुटवल औद्योगिक क्षेत्रमा ‘ट्रिपिङ’को समस्याले पनि उद्योगी हैरान भएका छन् । औद्योगिक क्षेत्रका उद्योगी उपेन्द्र अग्रवालले ट्रिपिङले आफूहरू हैरान भएको बताए । अहिलेसम्म लोडसेडिङको शेड्युल नआए पनि विद्युत आउने/जाने गर्दा उत्पादनमा धेरै ह्रास आएको उनको भनाइ छ ।

‘भारतबाट विद्युत कटौती हुने र औद्योगिक क्षेत्रमा फेरि लोडसेडिङ हुने खबरले हामी दुखी छौं,’ उनले भने, ‘देशमा कहिल्यै औद्योगिक वातावरण बन्ने अवस्था आउने देखिएन ।’

लोड कसरी व्यवस्थापन गर्नुभएको छ ? भन्ने प्रश्नमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले आफू केही नबोल्ने बताए । 'म यस प्रश्नको जवाफ दिन्नँ,' घोषले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्