
आइतबारदेखि भारतबाट दैनिक १२ घण्टा मात्र विद्युत आयात हुन थालेपछि औद्योगिक क्षेत्रमा १२ देखि १४ घण्टा लोडसेडिङ शुरू भएको छ ।
नेपालले मार्च १५ सम्म भारतबाट दैनिक २० घण्टा विद्युत् आयात गरिरहेकोमा उक्त सम्झौता नवीकरण नभएपछि सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मात्र विद्युत आउन थालेको छ ।
यसअघि नै औद्योगिक क्षेत्रमा ८ घण्टाभन्दा बढी लोडसेडिङ हुने गरेको थियो । पछिल्लो समय आफ्ना उद्योगहरूमा १४ घण्टासम्म विद्युत नआएको उद्योगीहरूले बताएका छन् ।
हिउँदमा नदी तथा खोलामा पानीको बहाव घट्दा आन्तरिक उत्पादन कम हुने र मागको अनुपातमा विद्युत आपूर्ति नपुग्ने भएकाले भारतबाट आयात गरिँदै आएको थियो ।
गत मंसिरमा भारतले मार्च १५ सम्म दैनिक २० घण्टा र मार्च १६ देखि जुन ३० सम्म सोलार आवरमा मात्र आयात गर्न अनुमति दिएको थियो ।
नेपाल विद्युत प्राधिकरणले मार्च १६ पछि पनि २० घण्टा विद्युत आयात गर्न दिन भारतलाई आग्रह गरेको छ, तर यो विचाराधीन अवस्थामा रहेको प्राधिकरणका एक कर्मचारीले बताए ।
'भारतसँग सकारात्मक छलफल भइरहेको छ । अझै केही वर्षसम्म हिउँदमा भारतबाटै विद्युत आयात गर्नुपर्ने बाध्यता छ,' प्राधिकरण स्रोतले भन्यो ।
हाल नेपालको आन्तरिक माग १९०० मेगावाट रहेकोमा हिउँदमा स्वदेशी उत्पादन १ हजार मेगावाट मात्र छ ।
बाँकी माग पूरा गर्न औसत ५०० मेगावाट विद्युत आयात गरिएको छ । सोलार आवरमा मात्र विद्युत आयात भएमा औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।
'स्वदेशी उत्पादन सुख्खायामका कारण निरन्तर घट्दो छ । अहिलेसम्म भारतबाट विद्युत आइरहेकाले औद्योगिक क्षेत्रमा केही घण्टा मात्र लोडसेडिङ गरेर व्यवस्थापन गरिएको थियो,' प्राधिकरणका एक कर्मचारीले लोकान्तरसँग भने ।
यसैबीच, नेपाल विद्युत प्राधिकरण र भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेडबीच हिउँदमा २२० मेगावाट विद्युत खरिद सम्बन्धमा भएको सहमतिलाई हालसम्म स्वीकृति नदिइएका कारण थप विद्युत आयात अनिश्चित बनेको छ ।
पछिल्लो समय नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा विद्युतको भाउ १ दशमलव ५ प्रतिशत बढाउने सहमति भएको विषयमा पनि प्रश्न उठेको थियो ।
यसअघि सोलार आवरमा मात्रै विद्युत् आयात गर्नेगरी गरिएको सम्झौता नवीकरणको म्याद गत जुनको अन्त्यमा सकिएको थियो । त्यसपछि भारतले १९ नोभेम्बरमा यो सम्झौता नवीकरण गरेको थियो ।
त्यसबेला उसले सम्झौता नवीकरण गर्दा १५ मार्चसम्म दैनिक २० घण्टा र त्यसपछि ३० जुनसम्म सोलार आवरमा मात्रै विद्युत् दिने व्यवस्था गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगमा १२ घण्टाभन्दा बढी लोडसेडिङ शुरू भइसकेको बताए । 'गोरखापत्रमै सूचना निकालेर अब लोडसेडिङ हुँदैन भनेको प्राधिकरणले उद्योगहरूमा अघोषित लोडसेडिङ गर्दै आएको छ । भारतबाट सोलार आवरमा मात्र विद्युत आएपछि सबैभन्दा पहिला उद्योगलाई टार्गेट गरिएको छ । अहिले कहीँ १२ त कहीँ १४ घण्टासम्म लोडसेडिङ हुन थालेको छ,' मुरारकाले लोकान्तरसँग भने ।
लोडसेडिङले उद्योग र व्यापार संकटमा, विराटनगरका उद्योगी आक्रोशित
विराटनगरका उद्योगीहरूले औद्योगिक क्षेत्रमा विद्युत् संकट गहिरिँदै गएको गुनासो गरेका छन् । विशेषगरी फागुनदेखि वैशाखसम्मको महत्त्वपूर्ण व्यापारिक मौसममा लोडसेडिङको असर गम्भीर रूपमा परिरहेको उनीहरूको भनाइ छ ।
उद्योगी पवन सारडाका अनुसार अब दैनिक १४ घण्टासम्म लोडसेडिङ हुन सक्ने खतरा बढेको छ ।
‘उद्योगहरूको उत्पादन क्षमता अत्यधिक घटेको छ,’ उनले भने, ‘यसले उत्पादन लागत वृद्धि गरेको छ र प्रतिस्पर्धात्मक बजारमा उद्योगीहरूलाई अप्ठ्यारोमा पारेको छ ।’
उद्योगीहरूका अनुसार फागुनदेखि वैशाखसम्म व्यापारिक सिजन हो ।
‘मुख्य सिजनमै लोडसेडिङ बढाइएको छ । मागको समयमै उद्योगहरूले आवश्यक सामग्री बेच्न नपाउने अवस्था आएको छ, जसले व्यापारमा गम्भीर संकट निम्त्याएको छ,’ सारडाले बताए ।
छड, सिमेन्ट र प्लास्टिक उद्योग प्रभावित
लोडसेडिङका कारण विशेषगरी प्लास्टिक, सिमेन्ट र फलाम उद्योगहरू नराम्ररी प्रभावित भएका छन् । सारडाका अनुसार यस्ता उद्योगमा उत्पादन प्रक्रिया शुरू गर्नुअघि ३–४ घण्टा मेसिन तताउनुपर्ने हुन्छ ।
‘चार घण्टा तताएर उपकरणलाई आवश्यक तापक्रममा पुर्याउँदा नै आधा समय बितिसक्छ, अनि बाँकी ८ घण्टामा मात्र उत्पादन गर्नुपर्छ,’ उनले भने ।
उद्योगी नवीन रिजालले नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनलाई प्रश्न गरेका छन् ।
‘पहिले अघोषितरूपमा बिहान २ घण्टा र बेलुका २ घण्टा लोडसेडिङ हुन्थ्यो । भारतबाट लाइन आउँदा अवस्था सहज थियो,’ उनले भने, ‘तर नेपाल विद्युत् प्राधिकरणले स्पष्ट बोल्दैन र लोडसेडिङमुक्त देश भनेर झुटो दाबी गर्छ ।’
रिजालका अनुसार आन्तरिक उत्पादनले माग धान्न नसक्ने भएकाले सरकारले विद्युत् उत्पादनमै जोड दिनुपर्छ ।
‘९–१० रुपैयाँ प्रतियुनिट लाग्ने ठाउँमा अहिले ४० रुपैयाँभन्दा बढी खर्च भइरहेको छ,’ उनले भने, ‘लोडसेडिङका कारण डिजेलको प्रयोग बढेको छ, जसले देशको विदेशी मुद्रा सञ्चिति घटाउँदै लगेको छ ।’
औद्योगिक क्षेत्रका व्यवसायीहरूले मौसमी मागअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गर्न, आन्तरिक उत्पादन बढाउन र उद्योगहरूका लागि छुट्टै विद्युत् लाइनको व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरेका छन् ।
बुटवल औद्योगिक क्षेत्र पनि लोडसेडिङको मारमा
पछिल्लो समय १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन थालेपछि बुटवलका उद्योगीहरू पनि आक्रोशित बनेका छन् ।
'भारतबाट विद्युत आयात कटौती भएदेखि नै यहाँ लोडसेडिङ बढ्न थालेको छ,' एक उद्योगीले भने, 'पहिला ८/१० घण्टा हुन्थ्यो भने अहिले १२ घण्टाभन्दा बढी हुन थालेको छ ।'
लोडसेडिङले विशेषगरी सिमेन्ट, इस्पात र अन्य प्रशोधन उद्योगमा ठूलो असर पारेको छ । यस्ता उद्योग सञ्चालन गर्न मशिन तताउन मात्र ३–४ घण्टा लाग्ने उद्योगी बताउँछन् ।
त्यसमाथि सिमेन्ट र छडको मूल्य यसै पनि बढिरहेको सन्दर्भमा लोडसेडिङका कारण थप मूल्यवृद्धि हुने उनको भनाइ छ । भैरहवा–परासी औद्योगिक कोरिडोरमा सञ्चालित गोयन्का स्टील उद्योगका सञ्चालक अमित गोयन्काले गएको आइतबारदेखि १२ घण्टासम्म लोडसेडिङ हुन थालेको बताए ।
गोयन्काले भने, ‘लोडसेडिङ हुने भनेर समाचार आएपछि राति ७ बजेदेखि बिहान ७ बजेसम्म लाइन छैन, यसले औद्योगिक क्षेत्रमा ठूलो संकट निम्तिने देखिन्छ ।’ उनले थपे, ‘ठूला उद्योगलाई जेनेरेटरले थेग्दैन, राज्यले बिजुली पर्याप्त प्रयोग गर्नुस् भन्छ । १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन थालिसक्यो ।’
यता बुटवल औद्योगिक क्षेत्रमा ‘ट्रिपिङ’को समस्याले पनि उद्योगी हैरान भएका छन् । औद्योगिक क्षेत्रका उद्योगी उपेन्द्र अग्रवालले ट्रिपिङले आफूहरू हैरान भएको बताए । अहिलेसम्म लोडसेडिङको शेड्युल नआए पनि विद्युत आउने/जाने गर्दा उत्पादनमा धेरै ह्रास आएको उनको भनाइ छ ।
‘भारतबाट विद्युत कटौती हुने र औद्योगिक क्षेत्रमा फेरि लोडसेडिङ हुने खबरले हामी दुखी छौं,’ उनले भने, ‘देशमा कहिल्यै औद्योगिक वातावरण बन्ने अवस्था आउने देखिएन ।’
लोड कसरी व्यवस्थापन गर्नुभएको छ ? भन्ने प्रश्नमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले आफू केही नबोल्ने बताए । 'म यस प्रश्नको जवाफ दिन्नँ,' घोषले लोकान्तरसँग भने ।