
नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा पटकपटक हुने लोडसेडिङप्रति चिन्ता व्यक्त गरेको छ।
हालै देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित र अग्रिम जानकारीबिनाको विद्युत् कटौतीले गम्भीर असर पारिरहेको महासंघले जनाएको छ।
'लोडसेडिङले उद्योगहरू ठूलो समस्यामा परेका छन्। नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगहरूको सञ्चालन अवरुद्ध गरेको छ। यसले उत्पादन प्रक्रियामा असर पुर्याउँदै भारी गिरावट आएको छ,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बारम्बार दोहोरिने विद्युत् आपूर्तिको अस्थिरताले मेसिनरी तथा उपकरणहरूमा क्षति पुर्याएको महासंघको दाबी छ।
यस्तै, महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ।
ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन र निजी क्षेत्रसँग निरन्तर संवाद तथा सहकार्यलाई सशक्त बनाउन पनि महासंघले आग्रह गरेको छ।