
भारतको भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने कुनै संकेत नदेखिएको बताएकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारतीय पक्षसँगको छलफलमा नेपालको राजनीतिक परिदृश्यबारे विस्तृत कुराकानी नभए पनि लोकतान्त्रिक प्रणालीप्रति भारतको समर्थन स्पष्ट रहेको उल्लेख गरिन् ।
उनले नेपालको सरकार र संरचना परिवर्तनसम्बन्धी भारतका नेताहरूले कुनै चासो नदेखाएको दाबी गरिन् ।
'नेपालको सरकारको संरचना नै परिवर्तन गर्ने जस्तो कुनै नियत भारतका नेताहरूमा मैले पाइँन,' उनले पत्रकारहरूसँग भनिन् ।'
मन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षीका रूपमा भेटघाट भएको जानकारी दिइन् । तर, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि कुनै प्रस्ताव नराखिएको र भेट पनि नभएको उनले बताइन् ।
'मैले समकक्षी जयशंकरसँग औपचारिक भेटवार्ता गरें, तर प्रधानमन्त्री मोदीजीसँग भेट्ने कुरा उठाइएको थिएन, न त भेट नै भयो,' उनले भनिन् ।
उनले भारतमा भएका भेटघाटका क्रममा नेपालमा हाल भइरहेका राजनीतिक गतिविधिबारे खासै चर्चा नभएको बताइन् ।
यससँगै, नेपालमा लोडसेडिङ हुन नदिन भारतबाट थप विद्युत् आयातका लागि आफूले कूटनीतिक पहल गरेको पनि मन्त्री देउवाको दाबी छ ।