१० साउन २०८३, आइतबार

सत्तारुढ कांग्रेस र एमालेप्रति शेखरको आक्रोश

चैत ८, २०८१
काठमाडौं
सत्तारुढ कांग्रेस र एमालेप्रति शेखरको आक्रोश

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ताको नेतृत्व गरिरहेको एमाले र साथ दिने आफ्नै पार्टीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

मोरङ–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा शुक्रबार शेखरले जनताको सवाल एकातिर भए पनि सत्तारुढ दलले प्रभावकारी नतिजा नदिएको आरोप लगाएका हुन् ।

जनतामा देखिएको वितृष्णा हटाउन लाग्नुपर्नेमा सत्ताको नेतृत्व गरिरहेको दल नै सडकमा उत्रिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।

‘जनतामा अहिले वितृष्णा छ । यस्तो बेला जनता कसको पक्षमा छन् भनेर लाग्ने होइन । उनीहरूमा देखिएको वितृष्णा हटाउन लाग्ने हो,’ शेखरले भने, ‘नागरिकको असन्तुष्टि सम्बोधन गर्न नसके हामी दुर्घटनामा पर्न सक्छौं । सरकारको नेतृत्व गरिरहेको पार्टीले देशैभरि जागरण अभियान चलाउने निर्णय गरेको छ । सत्तामा भएको पार्टी सडकमा उत्रिने उपयुक्त समय हो यो ? यसमा प्रश्न गर्नुपर्छ ।’

सरकारले चर्चा गरे पनि संविधान संशोधनको विषयमा कुनै प्रष्ट एजेन्डा अगाडि सार्न नसकेको भन्दै शेखरले आलोचना गरे । 

एमालेमात्रै होइन शेखरले आफ्नै पार्टी नेतृत्वको समेत आलोचना गरे ।

२०८२ मसान्तसम्म पार्टीको महाधिवेशन गर्नुपर्ने भए पनि नेतृत्वले कुनै अग्रसरता नलिएको बताए । समयमा महाधिवेशन नगरे पार्टी निरन्तर कमजोर हुने भन्दै शेखरले सामाजिक सञ्जालबाट समेत दबाब दिनुपर्ने बताए ।

‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिरसम्म गर्नुपर्छ भनेर तपाईंहरूले सामाजिक सञ्जालमा लेख्नुस् । यस्तो लेख्दा पार्टीसामु दबाब पर्न सक्छ,’ शेखरले भने, ‘पार्टीमा कसले जित्छ, को आउँछ भन्ने आफ्नो ठाउँमा छ । तर पार्टीलाई चलायमान बनाउन दबाब दिनुपर्छ ।’

कार्यक्रममा नेता एनपी साउद, डा. मीनेन्द्र रिजाल, गुरूराज घिमिरेसहितका नेताले पार्टीले सरकारमा बसेर प्रभावकारी काम नदेखाएको बताएका थिए ।

संविधान संशोधन, सदनलाई प्रभावकारी बनाउने विषयमा कुनै अग्रसरता भन्दै उनीहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्