
झापा जिल्ला प्रहरीले नेपाल–भारत सीमा क्षेत्र हुँदै अवैध रूपमा भन्सार छली, चोरीपैठारी गरी ल्याइएका गाडीका मोबिल र अन्य पाटपुर्जा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले मेचीनगर–६ कालिखोलास्थित भारतबाट नेपाल आउँदै गरेको अवैध सामानसहित भारतीय नम्बरको कार बरामद गरिएको जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा कारको सिटमुनी ‘फल्सबटम’ बनाएर रु नौ लाख १५ हजार पाँच सय ८२ मूल्य बराबरका मोबिल र मोटरका पाटपुर्जा बरामद भएका हुन् ।
कार चालक भारत पश्चिम बङ्गाल दार्जिलिङका ३४ वर्षीय अमित सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।