
गत सेप्टेम्बरमा डोनाल्ड ट्रम्पले न्यूयोर्कमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्दा युक्रेनमा जारी युद्ध चाँडै टुंग्याउने विश्वास व्यक्त गरेका थिए। 'यदि हामी जित्यौं भने मलाई लाग्छ, हामी यो समस्यालाई निकै छिटो समाधान गर्नेछौं,' उनले भनेका थिए।
तर, उनले भनेको 'छिटो' को अर्थ समयक्रममा फरक देखिन पुग्यो । मे २०२३ मा उनले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो २४ घण्टाभित्र युद्ध रोक्ने प्रतिबद्धता जनाएका थिए।
तर, अहिले ट्रम्पले राष्ट्रपतिको रूपमा २ महिना बिताइसक्दा ह्वाइट हाउसमा युद्ध रोक्न निकै कठिन हुनेबारे बोध हुन थालेको देखिन्छ।
गएको सप्ताहन्तमा एक टेलिभिजन अन्तर्वार्तामा उनले स्वीकार गरे कि युद्ध एकै दिनमा अन्त्य गर्ने वाचा गर्दा उनी 'थोरै व्यंग्यात्मक' थिए।
युद्ध अन्त्य गर्न ट्रम्पले अपेक्षा गरेभन्दा बढी समय लाग्नुका केही कारण छन् ।
पहिलो, राष्ट्रपति ट्रम्पलाई विश्वास थियो कि कुनै पनि अन्तर्राष्ट्रिय समस्या उनले व्यक्तिगत रूपमा सम्बोधन गर्न सक्नेछन्। उनले १२ फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलोपटक फोन वार्ता गरे, जसलाई उनले 'निकै उत्पादनशील' भनेका थिए। १८ मार्चमा उनीहरूले पुनः कुराकानी गरे।
तर, यी वार्ताले ट्रम्पले चाहेको ३० दिने अस्थायी युद्धविराम ल्याउन सकेन। पुटिनबाट उनले केवल यति मात्र स्वीकृति लिए कि रूसले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्नेछ, जुन प्रतिबद्धता रूसले केहि घण्टामै उल्लंघन गर्यो।
दोस्रो, रुसी राष्ट्रपतिले वार्ताका विषयमा पहिलोटक सार्वजनिक रूपमा प्रतिक्रिया दिन समेत एक महिना लगाए। उनले अमेरिकी रणनीतिको विरोध गर्दै आफ्नो सुरक्षा चासो, नाटो विस्तार र युक्रेनको अस्तित्वलाई समस्या देखाए। उनले वार्ता अघि आफ्ना सर्तहरू पूरा गरिनुपर्ने बताए।
तेस्रो, ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्न जेलेन्स्की नै बाधक भएको ठानेको थियो। अमेरिकी दबाबका कारण ओभल अफिसमा भएको बैठक तनावपूर्ण बन्यो, जहाँ ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपतिसँग कडा बहस गरे।
यसले अमेरिका-युरोप सम्बन्ध बिगार्न समेत भूमिका खेल्यो, जसले युद्ध समाधान प्रक्रिया झन् ढिलो बनायो।
चौथो, युक्रेनले प्रारम्भमा समुद्र र आकाशमा मात्र अस्थायी युद्धविरामको प्रस्ताव गरेको थियो, जुन सजिलै निगरानी गर्न सकिन्थ्यो। तर, अमेरिकी पक्षले १२०० किलोमिटर लामो पूर्वी मोर्चामा समेत युद्धविराम हुनुपर्ने माग राख्यो।
यसले युद्धविरामको कार्यान्वयन झन् जटिल बनायो, जसलाई पुटिनले अस्वीकार गरे।
पाँचौं, ट्रम्पले युक्रेनको खनिज स्रोतमा अमेरिकी लगानीकर्ताहरूको पहुँच बढाउने प्रयास गरे। जेलेन्स्कीले सुरक्षा प्रत्याभूतिना सम्झौता गर्न अस्वीकार गरे पनि पछि बाध्य भएर अमेरिकी खनिज सम्झौतामा सहमत भए।
तर, अमेरिका अझै सम्झौताका शर्तहरू सुधार्ने प्रयास गरिरहेको छ, जसमा युक्रेनी परमाणु ऊर्जा संयन्त्रमा अमेरिकी पहुँचको विषय समेत उठाइएको छ।
ट्रम्पले युद्ध समाधानको प्रयास गरे पनि प्रक्रिया अपेक्षा गरेभन्दा कठिन देखिएको छ।
पछिल्ला २ महिनाका घटनाक्रमहरूले देखाएका छन् कि वास्तविकता ट्रम्पले सोचेभन्दा धेरै जटिल छ।
- बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद