०४ साउन २०८३, सोमबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

चैत १०, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए । उनले भने,“पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ । यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ ।”
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा प्रतिगामी तत्व सल्बलाएको टिप्पणी गरेका छन् ।

जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान अन्तर्गत शनिबार चितवनमा आयोजित जागरणसभामा उनले माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको अभियानका क्रममा आफूले महसुस गरेको बताउँदै जनताको माग सम्बोधन गर्ने दल माओवादी केन्द्र भएको दोर्होयाए ।
००००
पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई सुदृढ बनाउन जरूरी रहेको बताएका छन् । बागलुङ नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा उनले सङ्घीयताविरुद्ध विभिन्न गतिविधि भइरहेका भन्दै तिनलाई परास्त गर्न थप सुदृढीकरणका काम गर्न आवश्यक रहेको बताएका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालबाट राजतन्त्र घाटमा सेलाइसकेकाले त्यो ब्यूँझिएर आउन सम्भव नरहेको टिप्पणी गरेका छन् । यद्यपि, राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सल्बलाएको उनको भनाइ छ । 

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै भुसालले अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । 

तमु मुक्तिमोर्चा गोरखाको छैटौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षडयन्त्र भइरहेको बताए ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस तनहुँ क्षेत्र नं २ ले शनिबार दुलेगौडामा आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको कानूनी व्यवस्थाका कारण नियुक्ति प्रक्रिया राजनीतिबाट प्रभावित हुनसक्ने जोखिम रहेकाले यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । 
००००
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको कामका लागि सरकारलाई धन्यवाद दिएका छन् ।

टीयू क्रिकेट मैदानमा भइरहेको निर्माण कार्यको तस्वीर शनिबार सामाजिक सञ्जालमा साझा गर्दै खड्काले एउटा दीर्घकालीन सपना अन्ततस् पूरा हुन लागेको बताएका छन् । 

नेपाल क्रिकेटसँग सम्बन्धित सबैका लागि यो अपार खुशी  र गर्वको विषय भएको खड्काले उल्लेख गरेका छन्  । 
००००
जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । 

कैलाश जनमत पार्टीका प्रदेश सांसद गीता गुरुङका श्रीमान् हुन् । शनिबार भैरहवामा जसपा नेपालका अध्यक्ष यादवले कैलाशसहित सोही पार्टीका केन्द्रीय सदस्य निलम यादवलाई पनि पार्टीमा प्रवेश गराएको जिल्ला अध्यक्ष सीताराम यादवले जानकारी दिए ।
००००
वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ ।
राससका पूर्वअध्यक्षसमेत रहेका बस्नेतको शनिबार बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।
००००
बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालू आव २०८१–८२ को साउनदेखि फागुन महिनासम्ममा कुल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालू आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ । बजेटमध्ये चालूको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । सो अवधिमा चालूतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।
००००
अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। 

यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने सङ्केत नगर्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्