
बाँकेमा ट्याङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको डुडुवा गाउँपालिका– २ बेतहनी चोकमा साइकलमा सवार उनीहरूलाई आइतबार दिउँसो ट्याङ्करले ठक्कर दिएको हो ।
स्थानीय नौरीगौढी बोर्डिङ स्कूलबाट फर्किँदै गर्दा भे १ ख १४९७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा स्थानीय विशालकुमार गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार मृत्यु हुने बालकका आफन्तले ट्याङ्करमा आगजनी गरेका छन् ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि पनि स्थानीयले ढुंगा प्रहार गरेको र चौकीमा समेत ढुंगा हानेकाले सो नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको सूचना आएको पनि प्रहरी प्रवक्ता डीएसपी पातलीले बताए ।
दुर्घटनामा मृत्यु भएका बालकको शव अझै घटनास्थलमै रहेको छ ।
ट्याङ्करका चालकले मादक पदार्थ सेवन गरेको र उनले ट्याङ्कर ब्याक गरेर बालकको हत्या गरेको मृतकका आफन्तको आरोप छ ।