
आईपीएल-२०२५ मा गरेको एक कमेन्टरीलाई लिएर भारतीय क्रिकेट टोलीका दिग्गज स्पिनर हरभजन सिंह विवादमा तानिएका छन् । आइतबार भएको सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेलमा उनले गरेको एक टिप्पणीलाई लिएर विवाद भएको हो ।
दुई टीमबीचको खेलमा इंग्ल्याण्ड क्रिकेट टिमका फास्ट बलर जोफ्रा आर्चरले राजस्थान रोयल्सका लागि १८ औं ओभर बलिङ गर्दा इशान किशन र हेनरिक क्लासेन ब्याटिङ गरिरहेका थिए ।
आर्चरको दोस्रो र तेस्रो बलमा क्लासेनले लगातार चौका प्रहार गर्दा हरभजन सिंहले कमेन्ट गरे, 'लन्डनमा कालो ट्याक्सीको मिटर छिटो चल्छ, यहाँ आर्चर साहेबको मिटर पनि छिटो चलिरहेको छ ।'
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् । प्रयोगकर्ताहरूले हरभजन सिंहलाई आईपीएल २०२५ को कमेन्टरी प्यानलबाट हटाउन माग गरेका छन् ।
उनले कमेन्ट गरेको क्लिप अहिले भाइरल भैहेको छ ।