
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षौंको प्रयासपछि नेपालबाट लोडसेडिङ अन्त्य भएको बताएका छन् । प्रमिथसले स्वर्गबाट पृथ्वीमा आगो ल्याएजस्तै कसैले बिजुली ल्याएर नेपालबाट लोडसेडिङ अन्त्य नभएको उनले बताए ।
सुजाता कोइरालाले लेखेको ‘म र सानोबुवा’ पुस्तकको विमोचन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुलमान घिसिङले चमत्कार गरेर लोडसेडिङ अन्त्य नगरेको बताएका हुन् ।
‘एकजनाले लेखेको देखें, प्रमिथस (स्वर्गबाट पृथ्वीमा आगो ल्याएबापत सजाय पाएका धर्मशास्त्रका एक पात्र)ले जस्तै उज्यालो ल्याउनु भयो’, कुलमानको नाम नलिई ओलीले प्रश्न गरे, ‘अघिल्लो चार वर्षको कार्यकाल पूरै काम गर्नुभएको थियो । कि, उहाँले नियुक्त गर्दाबित्तिकै चिम बोकेर आउनु भयो ? वर्षौं लगाएर गरिएको कामलाई चमत्कार र जादुको रूपमा व्याख्या गर्ने? भ्रममा नपर्न आग्रह गर्छु ।’
प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएका हितेन्द्रदेव शाक्य प्राधिकरणको क्याडर भएको ओलीले बताए । ‘त्यहाँबाट अवकाश भइसकेको मान्छे (कुलमान)लाई ल्याएर नियुक्त गरेको होइन ? अहिले त्यहीँबाट हुर्केर आएर त्यहीँ काम गर्ने मान्छेलाई, त्यहीँको क्याडरलाई नियुक्त दिएको हो । बाहिरबाट कहीँबाट खोजेर ल्याएर नियुक्त गरेको होइन’, ओलीले भने ।
प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको विषयलाई इस्यु बनाएर आन्दोलन चर्काउन खोजिएको ओलीले आरोप लगाए ।
‘स–सना कुरालाई तिलको पहाड बनाएर त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलेको छ । अहिले पनि केही त्यान्द्रो पाएजस्तो लाग्यो केही मान्छेलाई । इस्यु भेटियो भनेर हिजैदेखि शुरू छ– वक्तव्यबाजी । इस्यु भेटियो यही मौका हो भनेर लागेका छन्’, ओलीले कसैको नाम नलिई भने, ‘यही डोरीलाई नाग बनाउन खोजिएको छ, केही अर्थ छैन । हामीले देश र जनताको हितको लागि काम गर्नुपर्छ इमान्दारीतापूर्वक ।’
घिसिङलाई पदमुक्त गर्ने निर्णयलाई लिएर सामाजिक सञ्जालमा सरकारविरुद्ध चर्को क्याम्पेयन भइरहेको छ । माओवादी भातृ संगठन लगायत केही संगठनले सडकमा प्रदर्शन समेत गरेका छन् ।