
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्टको अधिकतम खुदा मूल्य (एमआरपी) तोक्न सिमेन्ट उद्योगीलाई निर्देशन दिएको छ । विभागका महानिर्देशक कुमार दाहालले मङ्गलबार सिमेन्ट उद्योगीसँगको औपचारिक छलफलमा सिमेन्टको एमआरपी तोकेर मात्रै बजारमा ल्याउन निर्देशन दिएका हुन् ।
सडकदेखि सदनसम्म सिमेन्टको मूल्य बढेको गुनासो र आक्रोश चुलिएपछि विभागले सिमेन्ट उद्योगलाई बोलाएर एमआरपी तोक्न निर्देशन दिएको हो । अहिलेसम्म सिमेन्टको एमआरपी नतोकिँदा उपभोक्ता एक महिनाका बिचमा प्रतिबोरा दुई सय रूपियाँसम्म बढेको मूल्य तिर्नु बाध्य भएका छन् ।
मूल्य बढ्नुका कारण खोज्दा उद्योगीले डिलरलाई दोष लगाउने डिलरले उद्योगीलाई दोष लगाउने उपभोक्ता महँगीको मारमा परेपछि विभागका महानिर्देशक दाहालले सिमेन्ट उद्योगीलाई विभागमा बोलाएर एमआरपी तोकेर मात्रै सिमेन्ट बजारमा ल्याउन निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ ।