०२ साउन २०८३, शनिबार

गाउँपालिकाका तत्कालीन अध्यक्ष र वडा अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत १३, २०८१
काठमाडौं
गाउँपालिकाका तत्कालीन अध्यक्ष र वडा अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत लिखत तयार एवं सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गाउँपालिका वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाई कुलो निर्माणमा अघिल्लो वर्ष सम्पन्न भएको कामको आर्थिक वर्ष २०७७/०७८ मा कुनै पनि काम नगरी भुक्तानी लिएको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा सिम्लका घट्ट सिँचाई योजना आव २०७६/०७७ मा सम्पन्न भइसकेको पाइएको थियो ।

तर, २०७७/०७८ को वार्षिक योजना किताबमा नभएको तथा योजनालाई उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता, लागत अनुमान, मूल्याङ्कनसहितको झुट्टा कागजात तयार गरी भुक्तानीको सिफारिस गरिएको पाइएको आयोगले जनाएको छ ।

योजना नै नभएको अवस्थामा नापी किताब, सम्झौता, कार्य सम्पन्न प्रतिवेदन जस्ता कागजात गलत रूपमा तयार गरी १४ लाख ८ हजार ८१७ रुपैयाँ भुक्तानीका लागि चेकसमेत दिइएको प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, तत्कालीन वडा अध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदनराज जोशी र​ सिम्लका घट्ट सिँचाई कुलो योजनाको उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकाया मुद्दामा प्रतिवादी बनाएको छ । 

उनीहरूविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गरेर आयोगले कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्