
विपक्षी दलको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेलाई तय गरिएको छ ।
सभामुख देवराज घिमिरेले दिउँसो ३ बजे बस्नेगरी प्रतिनिधिसभा बैठकको समय निर्धारण गरेका संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
‘मिति २०८१ साल चैत १३ गते बुधबार आधा घण्टापछि बस्नेगरी स्थगित भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।
यसअघि आज बिहान ११ बजेदेखि बस्ने तय भएको बैठक ढिलागरी शुरू भएको थियो । तर, बैठक शुरू भएलगत्तै प्रतिपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए ।
विपक्षी दलको अवरोधपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेर पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
