०४ साउन २०८३, सोमबार
विपक्षीलक्षित ओलीको टिप्पणी

एउटा कर्मचारी हटाउँदा कोही छाती पिटीपिटी रोएका छन्, मैले जवाफ दिइरहनु पर्दैन- ओली

चैत १३, २०८१
काठमाडौं
एउटा कर्मचारी हटाउँदा कोही छाती पिटीपिटी रोएका छन्, मैले जवाफ दिइरहनु पर्दैन- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलले सस्तो राजनीतिक गरेको टिप्पणी गरेका छन् । 

उनले विपक्षी दलले सदनमा प्रधानमन्त्रीको जवाफ मागेको प्रसङ्गलाई लक्षित गर्दै आफूले जवाफ दिइरहन आवश्यक नरहेको पनि बताएका छन्  । 

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गरे  ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’, राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन प्रधानमन्त्री ओलीले भने ।

बुधबारको संसद् बैठकमा कुलमानको विषयलाई लिएर विपक्षी दलले अवरोध गरेका थिए । उनीहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने समेत माग गरेका छन् । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । 

यो विषयलाई लिएर गरिएको सदन अवरोधमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका छन् । 

‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू (विपक्षी दल) । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईंहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिन्छौं । न आत्तिन्छौं । धैर्यपूवर्क अगाडि बढ्छौं’, प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको समेत बताएका छन् । 

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छन् । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ’, प्रधानमन्त्री ओलीले भने ।

salt training

कमेन्ट गर्नुहोस्