
शुक्रबार सरकारविरुद्ध प्रदर्शन गर्न लागेको समाजवादी मोर्चाले नारा तय गरेको छ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा लगायतका दलहरू सम्मिलित मोर्चाले शुक्रबार भृकुटीमण्डपमा सरकारविरुद्ध जनप्रदर्शन गर्दैछ । त्यसका लागि मोर्चाले नारा तय गरेको हो ।
गणतन्त्रको पक्ष र सरकारको गलत कदमविरुद्ध भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समाजवादी मोर्चालाई प्रदर्शनका लागि भृकुटीमण्डपको ठाउँ उपलब्ध गराएको छ ।
मोर्चाले गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । मोर्चाले विभिन्न रुट पनि तय गरिसकेको छ ।
राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, भ्रष्टाचारीलाई कारबाही गर, सुशासन कायम गर, महंगी र कालोबजारी नियन्त्रण गर, सहकारी, लघुवित्त र मिटरव्याजीको समस्या समाधान गर, चर्को ब्याज नियन्त्रण गर, बेरोजगारी समस्या समाधान गर लगायतका नारा तय भएका छन् ।
