
बुल्गेरिया पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ स्थायी घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका-९ बस्ने ५७ वर्षीया आशा परियार रहेकी छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, बेरोजगार युवायुवतीलाई आकर्षक तलबको आश्वासन दिई लामो समयसम्म झुक्याएर रकम असुल गरी सम्पर्कविहीन भएकी थिइन् ।
परियारले दुई जना व्यक्तिबाट बुल्गेरिया पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।