
राजावादीका प्रदर्शनकारीहरूले अराजकता मच्चाएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।
प्रदर्शनकारीले व्यक्तिको घर जलाउने, सिसा तोडफोड गर्ने र घर भित्र प्रवेश गरेर सामानहरू सडकमा ल्याएर जलाउन थालेपछि प्रहरीले भीड तितरबितर गर्न हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार उग्र भीडलाई तितरबितर पार्न चेतावनी स्वरूप हवाई फायर गरिएको हो ।
प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
घाइतेलाई कान्तिपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घाइतेको कम्मर नजिकै गोली लागेको छ ।
वर्तमान व्यवस्थाको विरोध गर्दै राजा फर्काउनुपर्ने माग राख्दै राजावादीहरूले प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले पटक-पटक अश्रुग्यास र पानीको फोहोरा हान्दा पनि प्रदर्शनकारीहरू पछि नहटेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको हो ।