
राजावादीले प्रदर्शनका क्रममा शुक्रबार काठमाडौंको कोटेश्वर आसपासमा अराजकता मच्चाएको भन्दै सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ ।
राजसंस्था पुनःस्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने जस्ता अराजकता मच्चाएको भन्दै एमालेले आपत्ति जनाएको हो ।
लोकान्तरसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानीबुझीकन राजवादीले अराजकता मच्चाएको भन्दै जिम्मेवारलाई कानूनी कठघरामा ल्याउनुपर्ने बताए ।
‘राजावादीको आजको कदम निन्दा र भर्त्सनायोग्य छ । आपराधिक घटना उनीहरूले जानीबुझीकन घटाएका हुन् । यो अराजकता र मुठभेड निम्त्याउने नियत हो । शान्तिपूर्ण विरोध गर्छौ भनेर आक्रमण गर्ने, सुरक्षाकर्मीको हतियार खोज्ने । सार्वजनिक घर, निजी घर, पार्टी कार्यालय, व्यावसायिक संरचनाजस्ता ठाउँमा आगजनी र तोडफोड गर्ने घटनाले उनीहरूको नियत छर्लङ्ग भएको छ,’ ज्ञवालीले भने, ‘यो राजनीति उद्देश्यले गरिएको होइन । मुलुकलाई अराजकतातिर लान खोज्ने प्रयत्न हो । सरकारले सरकारले कानूनअनुसार जिम्मेवार मानिसलाई कानूनी कठघरामा ल्याउनुपर्छ ।’
राजावादीले तीनकुने आसपास व्यापारिक कम्प्लेक्स, नेकपा एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालय, कोटेश्वरस्थित भाटभटेनीमा पनि आगजनी गरेका छन् ।