
प्रमुख राजनीतिक दलहरूले राजावादी पार्टी र समूहले जानीबुझिकन अराजकता मच्चाएको बताएका छन् ।
राजावादी पार्टीका रूपमा राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईंसहितले नियतवश अराजकता मच्चाएको भन्दै उनीहरूले कानूनी कठघरामा ल्याउनुपर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मण्डलेहरूले तीनकुनेमा अराजकताको सीमा नाघेको भनेर टिप्पणी गरेका छन् ।
‘गणतन्त्रवादी मोर्चाको हैसियतले समाजवादी मोर्चाको तर्फबाट सभा गर्ने घोषणा थियो । अर्कोतिर राजावादीले पनि आजै कार्यक्रम राखे । कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि बाङ्गाको बाङ्गैजस्तो भयो,’ राजावादीले गरेको तोडफोडप्रति प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकाष्ठा तीनकुनेमा देखियो । घरमा आगो लगाउने, पुलिसमाथि आक्रमण गर्ने, मान्छे मरुन् भन्नेसम्मको अराजकता फैलाउन लागे ।’
पूर्वराजा ज्ञानेन्द्रकै इसारामा अराजकता मच्चाउन खोजेको भन्दै प्रचण्डले यस्तै गरिरहे निर्मलनिवासबाट पनि भगाउने चेतावनी दिएका छन् ।
‘जनता र राजनीतिक दललाई कमजोर ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्,’ प्रचण्डले समाजवादी मोर्चाको कार्यक्रमबाटै चेतावनी दिँदै भने, ‘विगतमा उनले धेरै गल्ती गरेका छन् । त्यस्ता गल्तीको परिणाम पूर्वराजाले भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार भन्न चाहन्छु ।’

राजावादीले प्रदर्शनका क्रममा शुक्रबार काठमाडौंको कोटेश्वर आपसमा अराजकता मच्चाएको भन्दै सत्तारुढ एमालेले आपत्ति जनाएको छ । राजसंस्था पुनःस्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्नेजस्ता अराजकता मच्चाएको भन्दै एमालेले आपत्ति जनाएको हो ।
लोकान्तरसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानबुझिकन राजावादीले अराजकता मच्चाएकाले जिम्मेवारलाई कानूनी कठघरामा ल्याउनुपर्ने बताए ।
‘राजावादीको आजको कदम निन्दा र भर्त्सनायोग्य छ । आपराधिक घटना उनीहरूले जानीबुझीकन घटाएका हुन् । यो अराजकता र मुठभेड निम्त्याउने नियत हो । शान्तिपूर्ण विरोध गर्छौं भनेर आक्रमण गर्ने, सुरक्षाकर्मीको हतियार खोस्ने, निजी घर, पार्टी कार्यालय, व्यावसायिक संरनाजस्ता ठाउँमा आगजनी र तोडफोड गर्ने घटनाले उनीहरूको नियत छर्लंग भएको छ,’ ज्ञवालीले भने, ‘यो राजनीति उद्देश्यले गरिएको होइन । मुलुकलाई अराजकतातिर लान खोज्ने प्रयत्न हो । सरकारले जिम्मेवार व्यक्तिलाई कानूनी कठघरामा ल्याउनुपर्छ ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अराजक बने पूर्वराजालाई तह लगाउने खालको अभिव्यक्ति दिए ।
‘यो कास्टिङमात्रै हो । यो मुलुकमा वंश र परिवारको शासनमा फर्किँदैन । जनताले कसैको दासत्व स्वीकार्दैनन्,’ नेपालले भने, ‘जनतालाई चुसेको, बर्बाद पारेको सम्झिँदा पनि राजतन्त्र फर्किने कल्पना गर्न सकिँदैन । यो देशमा वंशको शासन गर्ने कुचेष्टा कसैले नगर्दा हुन्छ । ढलेको राजतन्त्र आउन सम्भव छैन । अराजकतावादको हल्ला सुनेका छौं । कोही मच्चिनुपर्दैन, देशलाई अगाडि लाने हो ।’

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रविरुद्ध कुनाबाट फ्याउफ्याउ नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी दिए । ‘नेपाली जनता गणतन्त्रप्रति गौरव गर्छन् । गणतन्त्रविरुद्ध राजतन्त्र फर्काउने कुरा गरेका छन् । हामीलाई प्रभु र महासामन्तको खाँचो छैन,’ विप्लवले भने, ‘जनतालाई नटेर्ने सामन्ती प्रवृत्तिको खाँचो छैन । धेरै त्याग र दुःखबाट यहाँसम्म आएका हौं । २४० वर्षको राजतन्त्रले के गर्यो ? नयाँ पुस्ताले बुझ्नुपर्छ ।’
बोल्न र सामान्य अधिकारसमेत नपाउने स्थितिबाट आजसम्म आएको भन्दै उनले कुनाबाट गणतन्त्रविरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिए । ‘बोल्न पाइँदैन थियो । जनताले आँ गर्न सक्दैन थिए । जनजाति, दलित, थारू, मधेशीलाई नागरिक नै मानिँदैनथ्यो । तर, लडेर ल्याएको गणतन्त्रविरुद्ध बोल्न गाह्रो हुने, कुर्सीमा पनि अरूले राख्नुपर्ने नवराज सुवेदीले नेपालको राजनीतिक समस्या समाधान गर्ने रे ?,’ विप्लवले भने, ‘ जनताको विद्रोहबाट पछारिएकाले कुनाबाट फ्याउफ्याउ गर्ने ? यो प्रहसन मात्रै हो ।’
विदेशीको षड्यन्त्रमा गणतन्त्रविरुद्ध गतिविधि भएको उनको भनाइ थियो ।
नवराज सुवेदी संयोजक रहेको आन्दोलन परिचालन समितिले दुर्गा प्रसाईंलाई शुक्रबार हुने विरोध प्रदर्शनको कमान्डर बनाएका थियो । प्रसाईंले शुक्रबारमात्रै पूर्वराजासँग भेटेर फर्किएका थिए । उनै प्रसाईंको नेतृत्वमा तीनकुने पुगेको जुलुसले निषेधित क्षेत्र तोड्ने क्रममा आगजनी र लुटपाट भएको हो । तीनकुनेमा सभाको तयारी हुँदै गर्दा प्रसाईंले आफैं गाडी चलाउँदै निषेधित क्षेत्र तोड्ने गरी भीडमा गाडी कुदाएका थिए । भीडलाई उत्तेजित बनाएपछि प्रसाईं, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरू भागेका थिए ।
राजावादी समूहले तीनकुनेस्थित व्यापारिक मल, होटल, रेस्टुरेन्ट, मिडियाका कार्यालय, नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, कोटेश्वरस्थित भाटभटेनी लगायतमा तोडफोड, आगजनी र लुटपाट गरेका हुन् । सडकमा भेटिएका सार्वजनिक सवारीमा आगजनी गर्ने, पब्लिकका घरमा तोडफोड गर्ने र लुटपाट गर्ने घटनामा राजावादी समूह उत्रिएका हुन् । उनीहरूले जडिबुटीस्थित औषधि कारखाना, एयरपोर्टको बाहिरी सुरक्षा घेरामा पनि आगो लगाउने प्रयास गरेका छन् ।
यसपछि सरकारले साँझ १० बजेसम्म कोटेश्वर तीनकुने आपसमा कर्फ्यु लगाएको छ । राजावादी अराजक समूहले नेकपा एमालेको च्यासलस्थित कार्यालय, माओवादीको पेरिसडाँडास्थित कार्यालयलाई पनि निशाना बनाएपछि सुरक्षा तैनाथी बढाउँदै सेनासमेत खटाइएको छ । राजावादी अराजक बनेपछि गृहमन्त्री रमेश लेखकले पूर्वराजा र प्रसाईं मुख्य दोषी रहेको बताएका छन् ।
गृहमन्त्री लेखकले प्रदर्शन गर्न निर्देशन दिने पूर्वराजा शाह र अराजकता मच्चाउने विवादास्पद मेडिकल व्यवसायी प्रसाईं नै आजको अराजकताको मुख्य दोषी रहेको लोकान्तरसँग बताएका हुन् ।
‘शान्तिपूर्ण भनेको प्रदर्शन यही हो ? अराजक भीड देखाएर व्यक्तिको सम्पत्ति तोडफोड गर्न र जलाउन पाइँदैन,’ गृहमन्त्रीले लेखकले भने, ‘जसले प्रदर्शन गर्न निर्देशन दियो, उनीहरू नै दोषी हुन्, कारबाहीको दायरामा ल्याइन्छ ।’
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अराजकता मच्चाउने राजावादीको हर्कत एकै दिन देखिएको बताए । ‘राजावादीको शुक्रबारको हर्कतबाट उनीहरू उद्देश्यविहीन जमात हुन् भन्ने देखियो । खास लक्ष्य देखिएन । अराजकता सिर्जना गर्ने काम उनीहरूले प्रदर्शनको शुरूकै दिनमा देखाउनुले अराजक भीड हो भन्ने प्रस्ट भएको छ,’ महतले भने, ‘सरकारले सरकारले शान्ति सुरक्षा स्थापनाका लागि आफ्नो संरचनालाई सशक्त बनाउनुपर्छ । आमजनताको जनधनलाई क्षति गर्ने प्रवृत्ति देखियो । यसको सम्पूर्ण जिम्मेवारी आन्दोलन सञ्चालन गर्नेले लिनुपर्छ ।’
अहिलेको परिवर्तन ल्याउने शक्तिले लामो आन्दोलन गर्दा पनि संयमता देखाएको भन्दै महतले राजावादीको प्रदर्शन अराजकताबाहेक केही नभएको बताए ।
‘हिजो हामीले लामो आन्दोलन गर्यौं । शान्तिपूर्ण गर्यौं । तोडफोड गर्ने काम कहीँ पनि भएन । अहिले जे मन लाग्यो, त्यो भएको छ । कानूनबाहिर गएर गलत प्रवृत्ति देखाएका छन्,’ महतले भने, ‘हामीले गणेशमान सिंहलाई जनआन्दोलनको कमान्डर बनायौं । तर, आज दुर्गा प्रसार्ईंजस्ता आफैं गाडी चलाएर भीडलाई अराजक बनाउने जनकमान्डर बनाइएका छन् । यही घटनाले यिनमा जनताको भरोसा छैन भन्ने प्रस्ट्याउँछ ।’