
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट मुगुका तीन जना कृषकहरू पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार हरेक वर्ष जिल्लामा उत्कृष्ट कृषि व्यवसाय गर्दै आएका कृषकमध्येबाट छनोट गरी उत्कृष्ट कृषक पुरस्कार वितरण गर्ने गरिँदै आएको छ ।
शुक्रबार जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा आयोजित कार्यक्रममा छनोटमा परेका उत्कृष्ट कृषकलाई नगदसहित प्रशंसापत्र र दोसल्लासहित सम्मान गरिएको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मन्त्रलयको नीति नियमभित्र रहेर तरकारीखेतीबाट मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ का बृखबहादुर भाम प्रथम दोस्रोमा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँका नैलासिंह खड्का रहेका छन् भने सोही नगरपालिका–६ लिउडी गाउँका मह कृषक रुपबहादुर सेजुवाल तृतीय हुनुभएको छ । प्रथम, दोस्रो र तृतीय हुने कृषकलाई क्रमशः ३० हजार, २५ हजार, २० हजार नगद पुरस्कार, दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए ।
पुरस्कृत हुने कृषकलाई नगद पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले आगामी दिनमा पनि थप व्यावसायिक रुपमा कृषि पेसामा लागि देशमै केही गर्न सकिन्छ भन्ने देखाउन कृषकलाई सुझाव दिए ।