
अधिवक्ता राज सुवालले ‘सेन्टर फर इन्टिलेक्चुअल प्रपर्टी नेपाल प्रालि’ तथा ‘सुवाल ल एसोसिएट्स’को कार्यालयमा राजावादी समूहका प्रदर्शनकारीले गरिरहेको लुटपाटको भिडियो/फोटो खिचेपछि उनीहरूले पत्रकारलाई त्यहीँ थुनेको बताएका छन् ।
प्रदर्शनकारीले आगो लागेको कोठामा थुन्दा पत्रकारको (एभिन्यूज टेलिभिजनका सुरेश रजक) मृत्यु भएको अधिवक्ता सुवालले उल्लेख गरेका छन् ।
आफ्नो कार्यालयमा लुटपाट भएको भिडियो र फोटो खिचेकै आधारमा प्रदर्शनकारीले कोठाभित्रै आगो लगाएको र पत्रकार सुरेश रजकको मृत्यु भएको उनले सामाजिक सञ्जालमा लेखेका हुन् ।
‘भ्रामक तथ्यको खेती भयो । जुन घरमा पत्रकार जलेर मृत्यु भयो त्यो घरमा छतमा जाने बाटो बन्द थियो, प्रहरी गएकै थिएन र जुन घरमा प्रहरी बसेर अश्रुग्यास हान्यो भनेको छ त्यो घरमा आगलागी भएको हैन’,सुवालले लेखेका छन्, ‘आन्दोलनकारी लुटेराहरूले लुट्दै गरेको भिडियो पत्रकारले खिचेपछि पत्रकारलाई आगो लागेको कोठामा थुनिदिएका हुन् । ताला लगाएको हाम्रो बन्द कार्यालयमा लुटेराहरू भित्री झ्यालबाट पसेर लुट मच्चाएपछि आगजनी गरेको हो ।’
उनले तीनकुनेको दुईवटा सिसाको घर रहेको र एउटामा लुटेपछि आगो लगाइदिएको प्रष्ट्याएका छन् ।
‘तीनकुनेको सिसाको घर एउटा हैन दुईटा हो । पूर्वको लुटेपछि आगो लाइदिएकोमा आगोमा परी पत्रकारको मृत्यु भएको सहकारीको घर हो भने पश्चिमको प्रहरीले उपयोग गर्यो भनेको घर हो’, सुवालले लेखेका छन्, ‘आन्दोलनकारी लुटेराहरूले लुट मच्याएपछि आगजनी गरेका हुन् । लुटेरा तथा अपराधीहरूलाई कानून बमोजिम कारबाही गरिनुपर्छ ।’
कार्यालयमा लुटपाट गरेपछि आन्दोलनकारीले पत्रकारसहितका फोटो खिचेको र उनलाई भित्रै थुनेर निस्किएको भिडियो सार्वजनिक भएको छ ।
आन्दोलनकारीले लगाएको आगोमा परेर कार्यालयको सम्पूर्ण कागजात, मिसिल, कम्प्युटर र फर्निचरसहितका सामग्री नष्ट भएकोले केही समय सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको पनि बताएका छन् ।
‘तीनकुनेस्थित हाम्रो कार्यालय सेन्टर फर इन्टिलेक्चुअल प्रपर्टी नेपाल प्रालि तथा सुवाल ल एशोसिएट्सको कार्यालय आजको आन्दोलनकारीले लगाएको आगोमा परि कार्यालयको सम्पूर्ण कागजात, मिसिल, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत आगजनीमा नष्ट भएको अवस्था छ’, उनले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट हामी हाम्रो सेवाग्राहीमा पर्न गएको मर्काप्रति गम्भीर रही दुःख व्यक्त गर्दछौं । आगामी केही समय हाम्रो सेवाग्राहीमा पर्न जाने असुविधाप्रति हामी क्षमायाचना गर्दछौं । यस्तो व्यक्तिगत सम्पत्तिमाथि भए गरेको अपूरणीय क्षति तथा अराजक गतिविधिको हामी घोर भत्सर्ना समेत गर्दछौं ।’