
विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम (वाकाथन) गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो ।
सिद्धार्थ बैंकले दिगो विकासका लक्ष्यलाई आत्मसात गर्दै आफ्नो बैंकिङ कारोबार तथा प्रक्रियालाई सोही अनुरुप गर्दै आएको छ । यसैक्रममा बैंकले पर्यावरणीय, सामाजिक तथा सुशासन मान्यतालाई अवलम्बन गरी वित्तीय सेवामा दिगोपन सुनिश्चित गर्न विविध नीति तथा कार्यक्रम समेत लागू गरिसकेको छ ।
हरित वित्त, आधुनिक डिजिटल बैंकिङ तथा सामाजिक उत्तरदायित्वका पहलमार्फत् बैंकले वित्तीय पहुँच विस्तार गर्न सदैव तत्पर रहेको जनाएको छ । पुनर्नवीकरणीय ऊर्जा, वातावरणमैत्री लगानी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै, दिगो आर्थिक बृद्धिमा योगदान पुर्याउन पनि बैंक प्रतिवद्ध रहेको छ ।
संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्य (SDG) अन्तर्गत सबैका लागि पानी र सरसफइ सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियान सञ्चालन गरिन्छ ।
यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्त्वबारे जनचेतना फैलाउनका लागि ‘वाक फर वाटर, वाक फर लाइफ’ वाकाथन कार्यक्रम आयोजना गरेको हो ।

यस वर्षको विश्व पानी दिवसको मूल एजेण्डा हिमनदी संरक्षण रहेको छ । हिमनदी संरक्षण भनेको पृथ्वीको दीर्घकालीन अस्तित्व सुरक्षित गर्नु हो। हिमनदीहरूबाट प्राप्त पानी पिउन, कृषि, उद्योग, ऊर्जा उत्पादन तथा पारिस्थितिक सन्तुलनका लागि अत्यावश्यक छ।
कार्यक्रम उद्घाटन गर्ने क्रममा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदी पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनु पर्ने धारणा राखे ।
उनले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदी पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताए ।
बैंकले आयोजना गरेको यस ५ किमि लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो ।
कार्यक्रममा बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवाला गरी ६५६ जनाको सहभागिता रहेको थियो । जसमध्ये ३९५ जना पुरुष र २६१ जना महिला थिए ।