११ साउन २०८३, सोमबार

सदनमा अवरोध नगर्न सभामुख र सत्तापक्षको अनुरोध, विपक्षी दल पुरानै अडानमा

चैत १७, २०८१
काठमाडौं
सदनमा अवरोध नगर्न सभामुख र सत्तापक्षको अनुरोध, विपक्षी दल पुरानै अडानमा

सत्तारुढ दलले संसद्को अवरोध हटाउन विपक्षी दलसँग अनुरोध गरेको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा आइतबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा सत्तारुढ दलले विपक्षीलाई यस्तो अनुरोध गरेका हुन् । तर, विपक्षी दल भने पुरानै अडानमा रहेका छन् । 

बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा सचेतक सन्तोष परियार, राप्रपा सचेतक ज्ञानेन्द्र शाही सहभागी थिए । 

सभामुखसँगको बैठकमा सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरे भने विपक्षी दलले आफ्नो अडान यथावत् रहेको बताए । 

नेपाल विद्युत प्राधिकरणको नेतृत्व हेरफेरको विषयलाई लिएर विपक्षी दलले सदन अवरोध गरिरहेका छन् । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने उनीहरूको माग छ । 

यसअघि दुई दिनको बैठक विपक्षीको अवरोधका कारण प्रभावित भएको थियो । आज आइतबार पनि प्रतिनिधिसभा बैठक बोलाइएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै सवा १२ बजेसम्म बस्न सकेको छैन । 

प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख घिमिरेले पनि दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे ।

उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरेको उनको सचिवालयले जनाएको छ ।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुख घिमिरेको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्