
राजावादीको प्रदर्शनमा तीनकुनेमा घर जलाउने, तोडफोड गर्नेसहितका ४१ जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ ।
पक्राउ मध्येका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवल शमशेर राणासहित ११ जनालाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतसँग म्याद मागिएको छ ।
त्यस्तै यी ११ जनासहितका ४१ जनालाई संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गर्न म्याद मागिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार ४१ जनालाई सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि अदालत लगिएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार म्याद थपको पेशी न्यायाधीश तारादेवी महर्जनको इजलासमा तोकिएको छ ।
विभिन्न कानून व्यवसायीहरूले बहसका लागि वकालतनामा भरेकाले बहस हुने सम्भावना रहेको उनले बताए ।