२७ असार २०८३, शनिबार

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई के-के लगाइयो अभियोग, कति हुन्छ सजाय ?

चैत १७, २०८१
काठमाडौं
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई के-के लगाइयो अभियोग, कति हुन्छ सजाय ?

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । मुख्य योजनाकार दुर्गा प्रसाईं भने फरार छन् । ​

अदालतले रवीन्द्र र धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा थुनामा राख्ने अनुमति दिएको हो । 

थप ३० जनालाई संगठित रूपमा आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार ११ जनाविरुद्ध राज्यविरुद्ध कसुरको राजद्रोह मुद्दा र संगठित अपराध मुद्दामा अनुसन्धान गर्ने गरी उठान भएको छ ।​

काफ्लेका अनुसार राज्यविरुद्धको राजद्रोह मुद्दामा अधिकतम २५ वर्ष कैद र संगठित अपराध मुद्दामा त्यसको आधा कैद सजाय हुने प्रावधान छ ।

त्यसैगरी ११ सहित कुल ४१ जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान गर्ने गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उनले बताए ।

मिश्र, राणा, धर्मगुरु पुष्कर खतिवडा सहित ११ जनालाई थप आपराधिक उपद्रवको मुद्दा पनि उठान भएको सहन्यायाधिवक्ता काफ्लेले बताए ।

आपराधिक उपद्रव मुद्दामा ५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

त्यस बाहेक सरकारी सम्पत्ति, निजी सम्पत्ति आदिको लुटपाट, तोडफोडको विषयमा आउने जाहेरीको आधारमा क्षतिपूर्तिका लागि पछि बिगो कायम हुने गरी अहिले मुद्दाको उठान गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्