११ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

निशानामा पूर्वराजा ज्ञानेन्द्र, काम चलाउ नेतृत्वमा राजवादी

चैत १८, २०८१
काठमाडौं
निशानामा पूर्वराजा ज्ञानेन्द्र, काम चलाउ नेतृत्वमा राजवादी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गणतन्त्र पक्षधर दलहरूले हाल भइरहेका व्यवस्था र संविधानविरोधी षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेका छन् ।

आइतबार सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकले सो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । 

‘संविधानका विरुद्ध षड्यन्त्रमूलक गतिविधिहरू भइराखेका विषयमा बैठकमा समीक्षा भयो’, उनले बैठकपछि भने, ‘नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त वर्तमान संविधानको रक्षा गर्ने कुरामा हामी एकमत छौँ । यसै व्यवस्थाका मार्फत नागरिकलाई सुविधा प्रदान गर्ने र अघि बढाउने निष्कर्ष छ ।’

उनले अगाडि भने, ‘गणतन्त्र र संविधानलाई समाप्त गर्ने जुन गतिविधि भएका छन्, यो  षड्यन्त्रमूलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह हुन् भन्ने कुरामा सबै दलहरू एकमत छन् ।’
००००
प्रधानमन्त्रीको आह्वानमा आइतबार बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले तीन वटा सुझाव दिएका छन् । 

उनले पूर्वराजा ज्ञानेन्द्र शाहका हर्कतबारे छानबिन गरेर कारबाही गर्नुपर्नेसहितका ३ सुझाव दिएका हुन् । ज्ञानेन्द्र शाह उक्त घटनापछि निशानामा परेका छन् । उनलाई पक्राउ गरिनुपर्ने आवाज समेत उठेको छ । 
००००
जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ । 

आइतबार साँझ ५ दिन म्याद थप भएसँगै सबैको सूची प्रहरीले सार्वजनिक गरेको हो। शुक्रवार तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक झडप हुँदा २ जनाको मृत्यु भएको थियो । यस्तै तोडफोड र आगजनीका घटना भएका थिए ।
००००
गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा बताएका हुन् ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । गल्ती र कमजोरी भएको छ भने सुधारेर जाने हो । नागरिकले प्रश्न गर्ने हो । सुधार गर्ने हो । कुनै लोकतन्त्रको विरुद्ध निरंकुशता हुन सक्दैन,’ उनले भने, ‘राष्ट्रप्रति र नागरिकप्रति हामीलाई जिम्मेवारी बोध भएको छ । सुधारेर जानेमा प्रतिबद्ध छौं । हुकुम नै कानून हुने राजतन्त्रको पद्धति उचित होला भनेर कर्णधार युवा पुस्ताले भ्रममा पर्नुहुँदैन । यही व्यवस्थालाई सुधारेर जानुपर्छ ।’
००००
प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।
००००
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल (भद्रप्रसाद) रिहा भएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार उनलाई आइतबार हाजिरी जमानीमा रिहा गरिएको हो ।
००००
राजावादीहरूको प्रदर्शनका क्रममा गत शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार र आइतबार गरी ९ जनालाई नियन्त्रणमा लिएको हो ।
००००
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखतीलाई स्पष्टीकरण सोधेको छ ।

यही चैत १५ गते दुवै कार्यालयका सरकारी गाडी राजावादीको आन्दोलनमा प्रदर्शनकारीले जलाइदिएपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
००००
नेपाल बिमा प्राधिकरणले चैत १५ गते काठमाडौंको तीनकुनेहित विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्योट गर्न निर्देशन दिएको छ । 

प्राधिकरणले आइतबार सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न निर्देशन दिएको लनाएको छ ।
००००
नेपाल स्टक एक्सचेन्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को विन्दुमा कायम भएको हो ।
००००
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार ३३६ मत ल्याएर गिरी अध्यक्षमा विजयी भएका हुन् ।

गिरीले ३६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए ।
००००
शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनलाई लिएर संसद्‌मा गणतन्त्रवादी दल र राप्रपाबीच भनाभन भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सत्तापक्ष, माओवादी र राप्रपाका सांसदहरूबीच भनाभन भएको हो ।

सत्तापक्षका तर्फबाट नेपाली कांग्रेसका रामहरि खतिवडा र एमालेका ठाकुर गैरेले राजतन्त्रको प्रेत जगाउन मण्डलेहरू जागेको टिप्पणी गरेका थिए । संसद्को माइक काटिएको बेला खतिवडा र गैरेले राजसंस्थाको नाम भजाएर मण्डलेहरूले सडकमा अराजकता मच्चाएको आरोप लगाए ।

खतिवडाले राजावादीको नाममा सडकमा अराजक क्रियाकलाप गर्नेलाई दण्डित गर्नुपर्ने बताएका थिए । केही सांसदले पूर्वराजा र राजावादीविरुद्ध आक्रोश पोखेका थिए ।
००००
राजावादीहरूको संयुक्त आन्दोलनको कामचलाउ नेतृत्व जगमान गुरुङले गर्ने भएका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने जानकारी दिएका हुन्। 

‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नुहुनेछ,’ संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।’

राजावादीहरूले गत शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका लागि कमान्डर तोकिएका दुर्गा प्रसाईं फरार छन्। तीनकुने घटनापछि राजावादीको आन्दोलन तितरबितर भइसकेको छ । 
००००
नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्तीमा परेका कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको संयुक्त इजलासमा आइतबार पेशी चढे पनि हेर्न नमिल्नेमा परेको हो ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र बुझ्न अस्वीकार गरेका छन् ।

उनले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली निर्मल निवासबाट फर्किएको छ । जरिवानाको पत्र लिएर महानगर प्रहरी बलको टोली आइतबार बिहान साढे १० बजेतिर निर्मल निवास पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्