
कर्णाली प्रदेशको सबैभन्दा ठूलो मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा आज बिहानैदेखि मतदान भैरहेको छ । ६ वर्षपछि स्ववियु चुनाव हुन लागेको विश्वविद्यालयमा चार हजार तीन सय ८३ मतदाताले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
चुनावका लागि ९ वटा विद्यार्थी सङ्घ/सङ्गठन दर्ता भएका छन् । एमयूमा यसअघि तीन पटक अन्तिम समयमा चुनाव स्थगित भएको थियो ।
एमालेनिकट अनेरास्ववियुबाट जगतजंग शाही अध्यक्षका उम्मेदवार छन् । उनी उक्त सङ्गठनका प्रदेश कमिटी कोषाध्यक्ष समेत हुन् । उनको टीमबाट सचिवमा भूपेन्द्र भण्डारी, कोषाध्यक्षमा विक्रम सिंह मन्दिर मगर, सदस्यमा हिमाल उपाध्यक्ष, सुन्दर शाही, ढाकाराम लामिछाने, पंकज रेग्मी, रमेश खत्री, हस्त रोकाया र श्रवण खत्री उम्मेदवार छन् ।
कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदका उम्मेदवार छन् । त्यस्तै सचिवमा भूपेन्द्र आचार्य, कोषाध्यक्षमा लोकप्रसाद रिजाल तथा सदस्यहरूमा विकासकुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतीक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह छन् ।
माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष पदका उम्मेदवार छन्, २४ वर्षीय प्रकाश विक । उनको टिमबाट सचिवमा मोहन चौलागाईं, कोषाध्यक्षमा दीपबहादुर सुनार, सदस्यमा रेखा बोहरा, रमेश शाही, संस्कृति विष्ट, गगनबहादुर थापा, रोशन रोकाया, जनक बुढा, निश्चल बस्नेत उम्मेदवार छन् ।
स्वतन्त्र उम्मेदवार मिलन बिसी पनि मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन । विश्वविद्यालयमा १९ सदस्यीय कार्यसमिति चयन हुनेछ । निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।
स्ववियु अध्यक्षमा यसपटक सात भ्रातृ सङ्गठन र एक स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । नेविसंघबाट खड्का, अनेरास्ववियुबाट शाही, अखिल क्रान्तिकारीबाट विक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विकल्प वली र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार उम्मेदवार छन् ।
त्यस्तै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) चीनबहादुर सहकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (हैठी)बाट लेलिनकुमार रेग्मी र स्वतन्त्र उम्मेदवार मिलन बिसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।