०७ साउन २०८३, बिहीबार

गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा

चैत १८, २०८१
काठमाडौं
गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताएका छन् । प्रतिनिधिसभाको आजका बैठकमा उनले यस विषयमा प्रतिपक्षी सांसद्लाई जिम्मेवार बन्न आग्रह गरे ।

'हाम्रो संसदीय प्रणालीमा संसद् सञ्चालनको आफ्नै परम्परा, मर्यादा र विधिहरू छन्, उक्त विधि बमोजिम देशको प्रधानमन्त्री बोल्दै गर्दा बीचमा उभिने र प्रश्न गर्ने कुरा तथा प्रधानमन्त्री बोलिसकेपछि सवाल-जवाफ गर्ने कुरा संसदको कुनै नियमावलीले व्यक्त गर्दैन, त्यसैले आज जे भएको छ, त्यो गलत भएको छ,' उनले भने ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाउँदै प्रश्न उठाएका थिए । उक्त विषय संसदीय मर्यादाविपरीत भएको महामन्त्री शर्माको भनाइ छ ।

उनले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको घटनाको निन्दा गर्दै उक्त घटनाका सम्बन्धमा सम्पूर्ण राजनीतिक दलले दुःख व्यक्त गर्दा पूर्वराजाले कुनै चासो नदेखाएको बताए ।

कमेन्ट गर्नुहोस्