२८ जेठ २०८३, बिहीबार
हिरासतमा उपाध्यक्ष र महामन्त्री

प्रहरी हिरासतमा रवीन्द्र र धवल– नेता आउँदा ज्यादतीको गुनासो, परिवारलाई छिट्टै छुट्ने आश्वासन

चैत १८, २०८१
काठमाडौं
प्रहरी हिरासतमा रवीन्द्र र धवल– नेता आउँदा ज्यादतीको गुनासो, परिवारलाई छिट्टै छुट्ने आश्वासन

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा अहिले बहालवाला सांसद एवं राप्रपाका महामन्त्री धवल शमशेर राणा, राप्रपाकै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत झन्डै सय जना थुनुवा छन् । 

गत शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा जोडिएका राणा, मिश्रलगायत ४१ जनाविरुद्ध प्रहरीले तीनवटा कसुरमा अनुसन्धान थालेको छ । बाँकी अन्य केसका हुन् ।

राज्य विरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट आइतबार मात्रै ५ दिनको म्याद लिएको छ । 

शुक्रबार प्रदर्शनका क्रममा घाइतेलाई भेट्न केएमसी अस्पताल पुगेर फर्कँदै गर्दा मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले ‘हजुरहरूलाई उठाउन निर्देशन छ, गाडी चढौं हजुर’ भन्दै गाडीभित्र राख्यो ।

उनीहरूले गाडीमा बस्दै गर्दा ‘हामीले मान्छे मारेका हौं र ? के कसुरमा पक्राउ गर्न आउनुभएको ?’ भनेर प्रतिप्रश्न गरेका थिए । प्रहरीले जरुरी पक्राउ पुर्जी देखाएर नियन्त्रणमा लिएको थियो ।

शुरूमा अपराध अनुसन्धान कार्यालयको टेकुस्थित कार्यालयमा पुर्‍याइएका उनीहरूलाई मध्यराति भद्रकालीस्थित परिसरमा पुर्‍याई हिरासतमा राखिएको थियो । 

परिसरको हिरासतमा पुगेपछि मिश्रले ‘यहाँ पनि आउन लेखेको रहेछ’ भन्दै ठट्टा गरेका थिए । राणाले ‘राजनीति गरेपछि यो सामान्य हो’ भनेर प्रतिक्रिया जनाए ।

भोलिपल्ट शनिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरालगायत नेताहरू मिश्र र राणालाई भेट्न पुगे । शुरूमा मिश्र र राणालाई परिसरका प्रमुख एसएसपी विश्व अधिकारीकै च्याम्बरमा भेट्न दिने कि भनेर प्रहरीले सल्लाह गरेको थियो । तर, यसो गर्दा बाहिर गलत सन्देश जाने र थुनुवालाई एकै व्यवहारले हेर्नुपर्ने भन्दै प्रहरीले सुझबुझका साथ थुनुवा कक्षअगाडि रहेको भेटघाट कक्षमै भेट्ने प्रबन्ध मिलाइदियो ।

लिङ्देनले मिश्र र राणालाई थम्थम्याउँदै भने, ‘कांग्रेस–एमालेले राजनीतिक प्रतिशोध साँधे, हामी संसद् र सडकमा सशक्त प्रतिवाद गर्छौं ।’

‘उनले हिरासतमा बस्दा खानपानको व्यवस्था के हुन्छ ?’ भनेर प्रहरीलाई सोधेका थिए । 

‘घटनामा उहाँहरूको प्रत्यक्ष संलग्नता होइन, राजनीतिक प्रतिशोध साँधिएको हो, हिरासतमा बस्दा दुर्व्यवहार नगरिदिनुहोला, स्वास्थ्यको ख्याल गरिदिनुहोला’ भन्दै लिङ्देनलगायत नेताहरू फर्किए । 

विशेष अवस्थाबाहेक प्रहरीले थुनुवालाई बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म मात्र आफन्तसँग भेट्न दिँदै आएको छ । 

मिश्र र राणाले थुनुवालाई खुवाइने खाना खाएका छन् । सोमबार दलका नेता नपुगे पनि मिश्र र राणाको परिवारका सदस्यहरू उनीहरूलाई भेट्न पुगेका छन् ।

प्रहरी स्रोतका अनुसार भेट्न आउने राजनीतिक व्यक्तिहरूसँग उनीहरूले आफूहरूमाथि ज्यादती गरिएको गुनासो गर्ने गरेका छन् । परिवारका सदस्य आउँदा भने छिट्टै छुट्ने आश्वासन दिने गरेको एक प्रहरी अधिकृतले बताए ।

प्रहरीका अनुसार धर्मगुरु भनिने पुष्कर खतिवडालाई पनि उनको अनुयायी भन्दै केही भेट्न पुगेका छन् । खतिवडाले ढुंगाले प्रहरीलाई हानेको भिडियो भाइरल भएको थियो ।

प्रदर्शनस्थलबाट भागेका दुर्गा प्रसाईं अन्तिममा खतिवडाकै घर पुगी फलफूल खाएर बाहिरिएको खुलेको छ । मिश्र र राणालाई शुक्रबारै प्रहरीले नियन्त्रणमा लिए पनि खतिवडालाई भने शनिबार बिहान मात्रै पक्राउ गरिएको थियो । 

खतिवडालाई म्याद थपका लागि अदालतमा लैजाँदा परिसरमा पुगेका अन्य सेवाग्राहीले ‘ढुंगा हान्ने गुरु यिनै हुन्’ भन्दै हाँसो गरेका थिए । परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मिश्र र राणालाई अन्य थुनुवासरह नै व्यवहार गरिएको छ ।

उनले भने, ‘उहाँहरूलाई कुनै विशेष सुविधा दिइएको छैन । सबैलाई एकै ठाउँमा राखिएको छैन । कोठाहरूमा मिलाएर राखिएको छ ।’ 

थुनुवा भेट्ने समय तालिकामा आफन्त र पार्टीका नेताहरू आएको अवस्थामा मिलाएर भेट्न दिइएको जानकारी बोहराले दिए ।

salt training

कमेन्ट गर्नुहोस्