२६ असार २०८३, शुक्रबार

राजसंस्था, राजनीतिक दल र जनता मिलेर सहमतिको बाटो खोज्नुपर्छः पूर्वप्रधानमन्त्री चन्द

चैत १८, २०८१
काठमाडौं
राजसंस्था, राजनीतिक दल र जनता मिलेर सहमतिको बाटो खोज्नुपर्छः पूर्वप्रधानमन्त्री चन्द

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राजसंस्था, राजनीतिक दल र जनताको बीचमा सहमति खोजी स्थिरताको मार्ग पहिल्याउनुपर्नेमा जोड दिएका छन्।

संयुक्त जनआन्दोलन समन्वय समितिको आह्वानमा चैत १५ गते काठमाडौंमा आयोजित शान्तिपूर्ण विरोधसभामा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले ती घटनाहरू नियोजित भएको आशंका सोमबारको विज्ञप्तिमार्फत गरेका छन्। शान्तिपूर्ण प्रदर्शनमा हिंसा, आगजनी तथा लुटपाटका घटनाहरू हुनुले मुलुकको शान्ति र विधिको शासनमाथि गम्भीर प्रश्न उठेको उनले बताए।

पूर्वप्रधानमन्त्री चन्दले आन्दोलनको क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित क्षतिपूर्तिसहित गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे। यस घटनाको सत्यतथ्य छानबिन गर्न उनले उच्च स्तरीय न्यायिक आयोग गठनको माग समेत गरे।

नजरबन्दमा रहेका संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक नवराज सुवेदी, हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत सबै पक्राउ परेका व्यक्तिहरूको यथाशीघ्र रिहाइको माग गर्दै उनले निषेधको राजनीतिबाट टाढा रहन सरकारलाई चेतावनी दिए।

उनले मुलुक राजनीतिक अस्थिरता, भ्रष्टाचार, कानूनविहीनता तथा उत्तरदायित्वहीनताको भूमरीमा फसेको भन्दै राष्ट्रिय सहमति, सहकार्य र एकता नै निकासको एकमात्र उपाय भएको बताए। माओवादी द्वन्द्व र ०६२/०६३ को आन्दोलनपछिको अवस्थाले सरकार, संसद, न्यायपालिका तथा राज्यका अन्य अंगहरूमा जनविश्वास गुम्दै गएको उनले बताए। यस्तो परिस्थितिमा सबै पक्षले आत्ममूल्यांकन गर्दै साझा सहमति खोज्नुपर्ने उनको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्