
सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको छ ।
चीनको ल्हासाबाट एक सय सातजना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलायन्स बनेको छ ।
पहिलो नियमित अन्तरराष्ट्रिय उडानमार्फत पोखरा अन्तरराष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे ।
हिमालय एयरलायन्सले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान थालेको हो । यस अघि पोखरा विमानस्थलबाट सिचुवान एयरलायन्सले पहिलो व्यवसायिक चाटर्ड उडान सुरु गरिसकेको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आए पनि अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।
यात्रुहरूलाई स्वागतपछि विमानस्थलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैँमा महत्त्वपूर्ण भएको बताए ।