
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
चैत्र १५ गते काठमाडौंमा राजतन्त्र पक्षधरहरूले आयोजना गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा राप्रपा महामन्त्री एवं बहालवाला सांसद डा धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परे ।
हिंसा भड्काउन मतियारको भूमिका खेलेको भन्दै राणा र मिश्र सोही दिन पक्राउ परेका थिए । राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्किएपछिको तोडफोड र लुटपाटमा संलग्न भएकासँगै मिश्रलाई हतकडी लगाएर आइतबार म्याद थप्न लगियो ।
सांसद राणा पक्राउ परेकोबारे सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिधि सभा बैठकमा प्रहरीको पत्र पढेर जानकारी गराएका छन् ।
संविधानविद् डा भीमार्जुन आचार्यले दुईजना निर्दोष व्यक्ति मारिएको घटना सम्बन्धमा निष्पक्ष छानबिनका लागि आयोग बन्नु अनिवार्य रहेको बताए ।
लुटपाट र चोरी–डकैतीका घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही हुनु स्वाभाविक भएपनि राणा र मिश्रको हकमा बढी भएको आचार्य बताउँछन् ।
उनीहरूले हिंसा भड्काउने कुनै त्यस्तो काम गरेको पुष्टि नहुने आचार्यले बताए । ‘उनीहरू राजनीतिक व्यक्ति हुन्, राज्यविरुद्धको कसुर भनेर जे अभियोग लगाउन खोजिएको छ, त्यसमा कानूनी आधार देखिन्न,’ आचार्यले भने ।
००००
नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । घटेको मूल्य आजदेखि लागू भएको निगमले जनाएको छ ।
जसअनुसार डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटेको छ ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ निर्धारण भएको छ ।
००००
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ ।
सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिको १३ औँ बैठकले उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरेको हो ।
समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको छ । यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्ने छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे पाँच महिनापछि औपचारिक रूपमा पार्टी नेतृत्वमा फर्किएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दुई चरणको बैठकमा सभापति लामिछाने सहभागी भएका हुन्।
पहिलो बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। बैठकले पार्टीको नेतृत्व गर्दै महत्वपूर्ण समयमा अभिभावकत्व प्रदान गरेको भन्दै अर्याललाई विशेष धन्यवाद दिएको थियो।
००००
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड जाँदै छन् । मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी बैंककतर्फ जान लागेका हुन् ।
००००
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सोमबार राति अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले जारी हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
००००
सरकारले भूकम्पबाट प्रभावित बनेको देश म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको हो।
जसअनुसार सरकारले राहत सामग्री पठाउनेछ ।
००००
शुक्रबार तीनकुनेको राजावादी प्रदर्शनमा हिंसा फैलाउन सक्रिय भएको आरोप लागेका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।
उनले आफू सिंह भएको दाबी गर्दै अहिले भावी रणनीति तयार गर्न जुटेको सोमबार फेसबुकमार्फत बताए।
००००
‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गराउने पत्र काट्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका कार्यबाहक संयोजक जगमान गुरुङले सोमबार जारी गरेको विज्ञप्तिमा तीनकुनेको प्रदर्शनमा फोहोर गरेको लगायतका विषयमा पूर्वराजालाई जरिवाना गर्न नमिल्ने जिकिर गरिएको छ ।
००००
कतार सरकारले रमजान तथा ईद पर्वको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो । मन्त्रालयले सो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिइन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पहिलोपटक पुगेका छन् ।
पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न र चैत १५ गते राजावादी समूहले आगजनी र तोडफोड गरेको नेकपा एसको कार्यालयको अवलोकन गर्न ओली सोमबार बानेश्वरको आलोकनगर पुगेका हुन् ।
००००
प्रधानमन्त्री केपी शर्माले ओलीले चैत १५ गते तीनकुनेमा मच्चाइएको उदण्डताको विषयमा पूर्वराजाले उन्मुक्ति नपाउने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको भन्दै ओलीले पूर्वराजाले उन्मुक्ति नपाउने बताएका हुन् ।
‘आफ्नै निवासमा बोलाएर पूर्वराजाले आपराधिक प्रवृत्तिका व्यक्तिलाई जनकमान्डर तोकेर खटाउनुभयो,’ ओलीले भने, ‘आपराधिक घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न । समाजमा वितण्डा मच्चाएको र समाज भड्काएकोमा उहाँ बोल्नुपर्दैन ?’
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ुजनकमान्डरु तोकेका बताए ।
प्रारम्भिक अध्ययनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेका प्रधानमन्त्री ओलीको भनाइ छ ।