
राजावादी प्रदर्शनकारीले चैत १५ गते आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित घरमा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो ।
शुरूमा आकस्मिक ठानिएको घटना पछिल्लो समय रहस्यमय बन्दै गएको विभिन्न तथ्यहरूले देखाएका छन् । यो घटनालाई लिएर विभिन्न हिसाबले चर्चापरिचर्चा भइरहेको छ ।
सोही घरमा ल फर्म सञ्चालन गरेका अधिवक्ता राजकुमार सुवालले घटनाका विभिन्न पाटोहरू खुलाएका छन्, जसले यो घटनालाई निकै रहस्यमय देखाउँछ । प्रस्तुत छ, सुवालको भनाइ उनकै शब्दमा :
जसको (सुरेश रजक) मृत्यु भयो, उहाँ ‘अथेन्टिक’ पत्रकार नै हो । ज्याकेट लगाएरै जानुभएको थियो । तर, त्यहाँ उहाँको गतिविधि खिच्ने अर्को ‘क्यामेरा पर्सन’को बारेमा किन कसैले सोधीखोजी गर्दैन ? सानो क्यामेरा बोकेर छिर्ने अर्को व्यक्ति को हो ? उसलाई सोधपुछ गर्नुपर्छ । त्यो (सुरेशले मोबाइल चलाउँदै गरेको दृश्य खिचिएको) क्यामेरामा के छ भन्ने कुरा निकाल्नुपर्छ ।
म त्यतिबेला भक्तपुरमा थिएँ । तोडफोड भयो भनेपछि मात्र तीनकुने आएँ । त्यत्रो जलेको भवनमा केही बचेको थिएन । उहाँ (पत्रकार) हरू भड्काउने र तोडफोड गर्ने प्रदर्शनकारीसँगै गएर फोटो र भिडियो खिच्नुभएको रहेछ ।
सँगसँगै जानुको पछाडि मैले के डाउट गरें भने– पत्रकारिता गर्ने २ जना र तोडफोड गर्नेहरू कतै एउटै समूहका त थिएनन् ? मैले सोच्न बाध्य भएँ । तोडफोड गर्छु, सबै रेकर्ड गर्छु, अनि सबै मिडियाबाट सार्वजनिक गर्छु भन्ने योजना त थिएन ?
एभिन्युजको संस्थापक भाष्करराज राजकर्णिकार हुनुहुन्छ । राजावादीको मुभमेन्टमा मेरो पनि समर्थन छ भनेर विज्ञप्ति जारी गर्नुभएको थियो । उहाँले त्यहाँ भिडियो खिच्न उहाँकै कर्मचारी खटाउनुभएको छ ।
तोडफोड गर्ने मान्छेहरू कतै राजकर्णिकारले नै खटाएका पो हुन् कि ? शंका गर्न त पाइयो नि ! यो कुरा मैले अदालतमा बहसको क्रममा पनि भन्नसक्छु ।

राजकर्णिकारले पत्रकार रजकलाई सम्पूर्ण गतिविधि खिचेर ल्याऊ भन्नुभयो होला, अनुमान त गर्न पाइयो नि ! उनीहरू एउटै ग्रुप थिए भने यो सुनियोजित हुनुपर्छ । अब होइन अह्राएर पठाएको, वा जस्तो पनि खिचेर ल्याऊ भनेर पठाएको हुनसक्ने भयो । अथवा, पत्रकार एक्सक्लुसिभ भिडियो दिएर जनतालाई सुसूचित गराउँछु भन्दै आफ्नै रिस्कमा गएको पनि हुनसक्छ ।
अहिले सार्वजनिक भएको भिडियोमा आगजनी भएको घरबाट बाहिरिँदै गर्दा एउटा केटाले मुख छोपेको छ । सँगै अर्को केटी पनि बाहिर गएको देखिन्छ । उनीहरू जहाँबाट झरेको भिडियो छ, त्यो कसले खिच्यो ? अहिलेसम्म पहिचान भएको छैन । मलाईभन्दा बढी त मोबाइलबाट भिडियो खिच्नेलाई थाहा छ ।
ती दुईजना झर्नुअघि मेरो अफिसभित्र छिरेर ‘राष्ट्रवादी साथीहरूले आगो निभाएको’ भनेर जारको पानी खन्याइएको छ । तर, त्यतिबेला त्यो तलामा आगो लागेकै थिएन । उनीहरू नौटंकी भिडियो बनाएर झरेका छन् ।
यहाँ प्रश्न के हो भने, त्यो भिडियो कुनबेला बनाएको हो ? पत्रकार रजक हाम्रो अफिसमा प्रवेश गरेपछि भिडियो बनाएको हो कि ? अथवा, पत्रकार नआएकै बेला ती दुईजना पहिल्यै गएर खिचेको हो कि ? अनुमान के गर्न सकियो भने हुलमुलमा ग्रुप बाहिर निस्किएपछि यी दुईजना भिडियो बनाएर फर्किए ।
फर्केर गएपछि पहिलो तलामा आगो लागेको उनीहरूले देखे । तर, त्यो आगो कोशिश गर्दा दुई/चारजनाले निभाउन सक्ने परिस्थिति थियो । मैले यहाँ जोड्न खोजेको के हो भने, माथि आगो नलागेको ठाउँमा गएर नक्कली भिडियो बनाउनुभयो, तर तल आगो लागेको ठाउँमा निभाउने कोशिश गर्नुभएन ।
बाहिर निस्किएर लाइभ गरेर माथि साथी छ, आगोमा पर्यो बचाउनुपर्यो भनेका छन् । मेरो भनाइमा त्यो केटीले किन त्यसो गरेको ? तल आगो देखिसकेपछि एउटा भर्याङमाथि गएर पत्रकार रजकलाई तल आऊ भन्न सकिँदैन ? एउटा कमन सेन्स भएको मान्छेले त बोलाउँछ नै ।
यो त कस्तो भयो भने सुनियोजित रूपमा कार्यक्रमको बहानामा उटपट्याङ गर्न खोजिएको भनेर बुझें मैले ।
हाम्रो पत्रकार साथी (रजक)ले आनन्दसँग भिडियो खिचेर बस्नुभयो ? त्यो अवस्था किन आयो ? यो खोज्नुपर्छ । मलाई लाग्छ, यो प्रकरणमा उहाँलाई बाहिरबाट तेस्रो व्यक्तिले हस्तक्षेप गरेको हुनुपर्छ । त्यो हस्तक्षेप कुन प्रकारको हो भन्ने प्रहरी अनुसन्धानले बताउने कुरा हो ।
कसैले गोली हानेको छ भन्छ, कसैले छुरा हानेको भन्ला, कसैले ग्यासले निसास्सिएको भन्ला, तर ग्यासले निसास्सिएको भन्ने कुरामा म सहमत छैन ।
जो मान्छे माथि भिडियो खिचेर निस्किएको छ, त्यतिबेला त आगो लागिसकेको छ । धूँवा माथितिर फैलिसकेको छ । धूँवा माथि गएपछि रजकजीले ध्यान दिनुपर्ने हो । त्यहाँ गएको मान्छेमध्ये कसैले रजकमाथि भौतिक क्षति पुर्याएको हुनसक्छ । उहाँसँग क्यामेरा र हातमा मोबाइल थियो । शव वरिपरि क्यामेरा र मोबाइलको डिभाइस त हुनुपर्ने हो नि ! अनुसन्धानको क्रममा क्यामेरा र मोबाइलको अवशेष नै छैन । अन्तबाट पनि भेटिएको छैन ।
भौतिकरूपमा आक्रमण गरे पनि उनी एकैपटक त मर्दैनन्, क्यामेरा वा मोबाइल कतै फालेको हुनुपर्छ । रजकजीलाई सुनियोजित रूपमा ज्यान लिने योजना पहिल्यै बनेको थियो भन्ने अनुमान किन नगर्ने ? भन्ने कुरा मेरो हो । उहाँको ज्यान लिन खोज्दा फाइदा कसलाई पुग्छ ? प्रश्न यो हो । प्रदर्शनकारीले राज्यलाई र राज्यले प्रदर्शनकारीलाई आरोप लगाउने हो भने फाइदा कसलाई भयो त ?
तपाईं हामी सबैलाई थाहा छ, राजनीतिक आन्दोलन जबसम्म विध्वंसक हुँदैन, मानवीय क्षति हुँदैन, तबसम्म आन्दोलन सफल भएको मानिँदैन । १० जना मान्छे जम्मा भएर एक जनालाई मारिदियो भने ठूलो आन्दोलन हुन्छ । ५० हजार मान्छे भेला भएर ठूलो आन्दोलन गरे पनि शान्तिपूर्ण भयो भने त्यसलाई आन्दोलन भनिँदैन भन्ने भाष्य छ ।

तीनकुनेको आन्दोलनलाई प्रभावित पार्न खोज्दा त फाइदा आन्दोलनकारीलाई नै हुने हो । यो योजना गर्न खोज्ने सम्भावित व्यक्ति पनि आन्दोलनकारी नै हुनसक्छ ।
करिब ६ महिनाअघि दुर्गा प्रसाईंले तीनकुनेमा अनशन कार्यक्रम गरेका थिए । त्यतिबेला सुविधाका लागि पहिलो त्यही घरको पहिलो फ्लोर खाली भएकाले भाडामा दिइएको रहेछ । तर, पैसा तिरेको देखिएन ।
निजी घर होइन, सहकारीको घर भएकाले तपाईंहरूको संस्था के छ, सम्झौता गर्नुपर्छ भन्दा एक महिनासम्म ल्याइदिएनन् । पछि ताला लगाइयो ।
ढुंगा लिएर मान्छे घरमा प्रवेश गरेको भनिएको छ, त्यो साँचो होइन । प्रदर्शनकारीले हानेको ढुंगा नै माथि थुप्रिएको हो । प्रहरी पनि त्यो घरमा प्रवेश गरेका होइनन् ।
अश्रुग्यास हान्ने प्रहरी छतबाट झरेर बाहिर निस्किएपछि उसको ज्यान लिँदैनन् प्रदर्शनकारीले ? माथि गएपछि तल आउने एउटै बाटो भएकाले सम्बन्धित प्रहरीलाई पनि ज्यानको खतरा हुँदैन र ? त्यस्तो अवस्थामा कमान्डरले पनि त्यो निर्देशन दिँदैनन् । कमान्डरले निर्देशन दिँदा पहिला आफ्नो ज्यान बचाऊ भनेर भन्छन् नि !
प्रहरीमा मैले जाहेरी दिएको छैन । पहिले क्षतिको मूल्यांकन हुनुपर्छ । सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन हो त्यो । विगत सात वर्षदेखि नै त्यहाँ ल फर्म सञ्चालनमा थियो । सुनौलोले साढे ३ वर्षअघि मात्रै उक्त भवन खरिद गरेको हो ।
हाम्रो ल फर्मको भौतिक क्षति करिब १० देखि ११ लाख हो । तर, २५ वर्षअघिको कानूनका दस्तावेजहरू त्यहाँ जले । अहिले पैसा भएर पनि ती दस्तावेज खरिद गर्न पाइँदैन । यसको मूल्य नै छैन । ५/७ जना मानिसहरूको सक्कली डकुमेन्ट पनि जल्यो ।
भवनमा बीच तलामा कुरियरका साथीहरू थिए, बाँकी सबै बन्द थिए । सबैभन्दा माथिल्लो तलामा ग्रिल लक हुन्छ । उहाँहरू १२ बजे नै निस्किनुभएको सुनें । बन्द भएको अफिसमा झ्याल फोडेर, बन्द भएको कोठाको दराज सारेर, सोफामा टेकेर प्रदर्शनकारीहरू त्यहाँ पुगेको देखिन्छ ।
पत्रकारले समाचार संकलनकै नाममा त्यसरी अनधिकृतरूपमा अर्काको ल फर्ममा प्रवेश गर्न मिल्छ कि मिल्दैन ? तोडफोडको कुरा खिच्दा पत्रकार नै असुरक्षित हुन्छन् भनेर पत्रकारले सोच्ने कि नसोच्ने ? तोडफोड गर्ने व्यक्ति र भिडियो खिच्ने व्यक्ति एउटै समूहका हुन् कि भनेर शंका गर्ने कि नगर्ने ?
प्रहरीले हामीलाई एकपटक सम्पर्क गरेर मुचुल्का गर्न बोलाउँछौं भनेका थिए, तर आएनन् । क्षतिको विवरण ल्याउनू भनेका छन् । यो मेरो निजी सम्पत्ति होइन । पेशागत संस्था नष्ट भएकाले नेपाल बार एसोसिएसनले पनि अपनत्व लिनुपर्ने देख्छु म ।
(सुवाल ल एसोसिएट्सका सञ्चालक राजकुमार सुवालसँग लोकान्तरकर्मी सुवास गोतामे र ईश्वर अर्यालले गरेको कुराकानीको सम्पादित अंश )
पढ्नुहोस्, यो पनि :
पत्रकार सुरेश रजक जलेको तीनकुनेको घरमा ४ दिनपछि पुग्दा खुलेका नयाँ रहस्य