
प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’मा महत्त्वपूर्ण भूमिका निभाएका डोल्पाका विकास केसीको कुपोषणका कारण मृत्यु भएको छ ।
चलचित्र ‘लाज शरणम्’को कथामा कुपोषित बालकको पात्रका रूपमा चित्रण गरिएका केसी वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित थिए । उनको मंगलबार निधन भएको कलाकार महेश त्रिपाठीले जानकारी दिएका छन् । विकास चलचित्र कलाकार रेणु योगी र त्रिपाठीको सन्तानको भूमिकामा थिए ।
चलचित्रको सुटिङपछि निर्माण टिमले उनलाई उपचारका लागि काठमाडौं ल्याएको थियो । शुरूमा ग्रीनसिटी अस्पताल लगिएका उनलाई त्यहाँबाट कान्ति बाल अस्पताल रेफर गरिएको थियो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै उनलाई फिर्ता पठाइदिएको थियो ।

‘सुटिङ समयमा उहाँको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोबाइल उपलब्ध गराएका थियौं । चलचित्रसँग उहाँलाई भेट गराउने, उपचारका लागि ल्याउने लैजानेसहित पारिवारिक दायित्व निर्वाह गर्ने गीतकार संगीतकार वसन्त उदासको सहजीकरणका कारण विकासलाई हामीले केही सहयोग गर्न पायौं’, कलाकार त्रिपाठीले लेखेका छन्, ‘तर, कसैको नजरमा नपरेका कति बालबालिका दु:खद् मृत्युवरण गरिरहेका होलान् । कल्पना गर्न सकिन्छ । हामीले यसो भन्नुको कारण सहयोग र संवेदनशीलता देखाउन खोजेका होइनौं । तर, कर्णालीको कष्टकर जनजीवनको वास्तविक कथासँग सम्बन्धित आवश्यकताका विषयमा सम्बद्धको ध्यान जान सकोस् भनेर ध्यानाकर्षण गराउन खोजेका हौं ।’