
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशन अवज्ञा गर्दै उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराएका छन् ।
बिहीबार कार्यकक्षको ढोका फोरेरै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइएको हो ।
काठमाडौं टावरको नक्सा पास गर्दा अनियमितता गरेको आरोप लगाउँदै गुरागाईंलाई बालेनले पुस ५ गते प्रमुख प्रशासकीय अधिकृतबाट हटाएका थिए ।
गुरागाईंलाई हटाएर नयाँ कार्यकारी अधिकृत पठाउन बालेन गरेको आग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्वीकार गरेको थियो ।
त्यसपछि बालेन र संघीय सरकारबीच विवाद चर्केको थियो । विवाद चर्किँदै गएपछि लामो समय कर्मचारीले तलब पाएका थिएनन् ।
महानगरमा आर्थिक कारोबार ठप्प भएपछि बिहीबार केही जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको स्वागतको तयारी गरेका थिए ।
उपमेयर सुनिता डंगोलसहितका वडाध्यक्षहरू कार्यकारीको स्वागतका लागि महानगर पुगेका थिए ।

कार्यकारीलाई कार्यकक्षमा प्रवेश गर्न नदिन बालेनले बिहानैदेखि नगर प्रहरीलाई कार्यालयमा खटाएका थिए । तर, कर्मचारी र जनप्रतिनिधिले घेरेर गुरागाईंलाई कार्यालय प्रवेश गराएका थिए ।
त्यसक्रममा नगर प्रहरी र कर्मचारीबीच विवाद बढेको थियो । नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी परिचालन गर्न खोजेपछि कर्मचारी प्रतिकारमा उत्रिएका थिए ।
ढोका फोेरेर कार्यकारी अधिकृत कार्यकक्षमा प्रवेश गरेपछि उपमेयर र जनप्रतिनिधिसहितको बैठक बसेको थियो ।
त्यहाँ उपमेयर डंगोलले कार्यालयमा आएर समाधान खोज्न बालेनलाई आग्रह गरिन् ।
बिहीबारको घटनापछि काठमाडौं महानगरमा बालेनविरुद्ध एकप्रकारको विद्रोह भएको छ ।

जनप्रतिनिधि, कर्मचारीदेखि सरसफाइ कर्मचारीहरू समेत गुरागाईंको पक्षमा उभिएका छन् ।
२०७९ वैशाखमा निर्वाचित भएदेखि नै स्वतन्त्र मेयर बालेन र राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिबीच टसल देखिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णयले यो टसल उत्कर्षमा पुगेको थियो । बिहीबार महानगरको कार्यालयमा तनाव उत्पन्न हुँदा मेयर बालेन भने कार्यकक्षमा थिएनन् ।
उनले सामाजिक सञ्जालमार्फत सरकारको नेतृत्व र संघीय सरकारविरुद्ध आक्रोश पोख्दै आएका छन् ।