
इराकमा रहेका इरान-समर्थित केही शक्तिशाली मिलिसिया समूह पहिलोपटक हतियार त्याग्न तयार भएका छन् । यो कदम अमेरिकाको ट्रम्प प्रशासनसँग बढ्दो द्वन्द्वको खतरा टार्नका लागि चालिएको रोयटर्सले जनाएको छ ।
गत जनवरीमा डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेपछि अमेरिकी अधिकारीले इराकी सरकारलाई बारम्बार इरान समर्थित मिलिसियाको हतियार खोस्न चेतावनी दिएका थिए ।
इराकले आफ्नो भूमिमा सञ्चालित मिलिसिया समूहहरूलाई विघटन गर्ने कदम नचालेमा अमेरिकाले ती समूहमाथि हवाई आक्रमण गर्न सक्ने अमेरिकाको चेतावनी दिएको थियो ।
इराकको सत्तारुढ गठबन्धननिकट एक वरिष्ठ शिया मुस्लिम नेता इज्जत अल-शाहबन्दरको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ, 'प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानी र मिलिसिया समूहका नेताबीचको छलफल धेरै अगाडि बढिसकेको छ । यी समूह हतियार त्याग्ने अमेरिकी आह्वान मान्न इच्छुक छन् ।'
उनले इराकमा रहेका मिलिसिया समूह अमेरिकासँग डराएको बताए । 'अमेरिकाले आफूलाई निशाना बनाउन सक्नेमा उनीहरू पूर्ण रूपमा सचेत देखिन्छन् ।'
कटाइब हिजबुल्लाह, नुजबा, कटाइब सैयद अल-शुहदा, अन्सारुल्लाह अल-अव्फिया बग्दाद र दक्षिणी प्रान्तमा रहेर गतिविधि गर्ने छ मिलिसिया समूहका सदस्यहरूले हतियार त्याग्न शुरू गरेका छन् ।
'ट्रम्प हामीसँगको युद्धलाई खराब अवस्थासम्म पुर्याउन तयार देखिएका छन् भन्ने कुरा हामीलाई थाहा छ र हामी त्यस्तो नराम्रो परिस्थितिबाट बच्न चाहन्छौं,' कटाइब हिजबुल्लाहका एक कमान्डरको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ ।
यो समूह सबैभन्दा शक्तिशाली शिया मिलिसिया मानिन्छ ।
ती कमान्डरहरूले उनीहरूको मुख्य सहयोगी र संरक्षक इरानको 'रिभोल्युसनरी गार्ड्स '(आईआरजीसी) रहेको बताएका छन् । उनीहरूलाई आईआरजीसीले अमेरिका र इजरायलसँगको सम्भावित विनाशकारी द्वन्द्वबाट बच्न जस्तोसुकै निर्णय लिन पनि स्वीकृति दिएको छ ।
यी मिलिसिया समूहहरू इराकको 'इस्लामिक रेजिस्टेन्स'का महत्त्वपूर्ण हिस्सा हुन् । इस्लामिक रेजिस्टेन्स एक छाता समूह हो, जसमा करिब १० कट्टरपन्थी शिया सशस्त्र समूह जोडिएका छन् ।
यिनीहरूसँग करिब ५० हजार लडाकु र लामो दूरीका मिसाइल तथा एन्टी एयरक्राफ्ट हतियारको भण्डार रहेको मानिएको छ । यो रेजिस्टेन्स समूह इरानको क्षेत्रीय 'प्रोक्सी फोर्स'को मुख्य आधार हो ।
गाजा युद्ध शुरू भएको करिब १८ महिनादेखि यी समूहहरूले इजरायल र इराक तथा सिरियामा रहेका अमेरिकी सेनामाथि दर्जनौं मिसाइल र ड्रोन आक्रमण गरेका छन् ।
इराकी प्रधानमन्त्री सुदानीका विदेश मामिला सल्लाहकार फरहाद अलाल्दिनले रोयटर्सलाई भनेका छन्, 'प्रधानमन्त्रीले इराकमा सबै हतियार राज्यको नियन्त्रणमा होस् भन्ने सुनिश्चित गर्न विभिन्न पक्षसँग रचनात्मक संवादमार्फत प्रतिबद्धता जनाएका छन् ।'
केही मिलिसिया समूहले जनवरीको मध्यदेखि नै आफ्नो मुख्यालय खाली गरेका छन् भने मोसुल र अनबार जस्ता प्रमुख शहरहरूमा आफ्नो उपस्थिति घटाएका छन् । यो कदम हवाई आक्रमणको डरले चालिएको हो ।
धेरै मिलिसिया कमान्डरहरूले यो अवधिमा आफ्नो सुरक्षा सतर्कता बढाएका छन् । उनीहरूले बारम्बार मोबाइल फोन, गाडी र बस्ने ठाउँ परिवर्तन गरिरहेका छन् ।
अमेरिकी विदेश मन्त्रालयले बग्दादलाई मिलिसियालाई नियन्त्रणमा राख्न आग्रह गरिरहेको बताएको छ । 'यी फोर्सहरूले इराकको कमान्डर-इन-चीफको आदेश मान्नुपर्छ, इरानको होइन,' अमेरिकी विदेश मन्त्रालयले जारी गरेको एक वक्तव्यमा भनिएको छ ।
एक अमेरिकी अधिकारीको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ, 'विगतमा पनि मिलिसियाले अमेरिकी दबाबमा आक्रमण रोकेका उदाहरणहरू छन् । हतियार त्याग्ने काम लामोसमय टिक्छ भन्नेमा शंका छ ।'
इरानको'एक्सिस अफ रेजिस्टेन्स'मा संकट
इराकको सत्तारुढ गठबन्धननिकट एक वरिष्ठ शिया मुस्लिम नेता इज्जत अल-शाहबन्दरले भनेका छन्, 'इराकी सरकारले अझै मिलिटेन्ट नेताहरूसँग सम्झौता अन्तिम गरेको छैन । हतियार त्याग्ने संयन्त्रबारे छलफल जारी छ ।'
ती मिलिसिया समूहलाई राजनीतिक दलमा रूपान्तरण गर्ने वा इराकी सेनामा समाहित गर्ने विकल्पमा छलफल भइरहेको उनको भनाइ छ । हतियार त्याग्ने प्रक्रियाको भविष्य अनिश्चित भए पनि यो छलफलले मिलिसिया समूहहरूले पश्चिमी दबाबमा पहिलोपटक आफ्नो अडान छाड्न तयार भएको संकेत गरेको छ ।
यसले तेहरानको क्षेत्रीय 'एक्सिस अफ रेजिस्टेन्स'का लागि संकटपूर्ण समय सिर्जना गरेको छ । इरानले दशकौंदेखि इजरायल र अमेरिकी प्रभावविरुद्ध बनाएको यो नेटवर्क गत २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि शुरू भएको मध्यपूर्वी द्वन्द्वले कमजोर बनेको छ ।
इजरायलको आक्रमणबाट गाजामा हमास र लेबनानमा हिजबुल्लाह समूह प्रभावित बनेका छन् भने यमनको हुती समूह गत महिनादेखि अमेरिकी हवाई आक्रमणको निशानामा परेको छ ।
इरानको अर्को प्रमुख सहयोगी मानिएका सिरियाली राष्ट्रपति बशर अल-असदको पतनले इस्लामिक गणतन्त्रको प्रभावलाई थप कमजोर बनाएको छ । इराकले अमेरिका र इरान दुवैसँगको सम्बन्ध सन्तुलित हुने गरी आफ्नो भूमिमा रहेका मिलिसियासँग व्यवहार गरिरहेको छ ।
यी समूहहरू २००३ मा अमेरिकी आक्रमणले सद्दाम हुसेनको शासन ढालेपछि उत्पन्न अराजकतापछि इरानी आर्थिक र सैन्य सहयोगमा देशभर फैलिएका थिए । यिनीहरू अहिले इराकको राष्ट्रिय सेनाजस्तै शक्तिशाली बनेका छन् ।
अमेरिकी रक्षा सचिव पिट हेग्सेथले गत मार्च १६ मा इराकी प्रधानमन्त्री सुदानीसँग फोन वार्ता गरेका थिए । यो वार्ता हुतीमाथि अमेरिकी आक्रमण शुरू भएपछि भएको थियो ।