
नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको अधिवेशन आज (मंगलबार)देखि शुरू हुँदैछ । सुनसरीको इटहरीमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै छन् । अधिवेशनमा ७५० जना प्रतिनिधि सहभागी हुने एकीकृत समाजवादी कोशी प्रदेश कमिटीका सचिव महेश रेग्मीले बताए । अधिवेशनले १९९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
पदाधिकारी भने सात सदस्य हुनेछ । अध्यक्ष एक, उपाध्यक्ष दुई सचिव एक र उपसचिव तीन अधिवेशनबाट आउने नेकपा एस कोशी प्रदेशका अध्यक्ष बलदेव चौधरीले बताए ।
नयाँ नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । निवर्तमान उपाध्यक्ष धर्म निरौला वर्तमान सचिव महेश रेग्मी र निवर्तमान उपसचिव सरिता थापा आकांक्षी देखिएका छन् । यो नेकपा एसको पहिलो अधिवेशन हो ।
निरौला स्थायी कमिटी सदस्य हुन् भने रेग्मी पार्टीको केन्द्रीय सदस्य हुन् । सम्मेलन आयोजक कमिटी बनेपछि थापा प्रदेश कमिटी सदस्य मात्रै छिन् । वर्तमान अध्यक्ष बलदेव चौधरी केन्द्रीय सचिव बनेका छन् ।
केही नेताहरू सर्वसम्मत बनाउन कसरत गरिरहेका छन् भने केही नेताहरू माथिल्लो कमिटीमा पुगेकालाई तल्लो कमिटीमा आउन नदिने रणनीतिमा लागेका छन् । पार्टी बन्दै गरेकाले चुनाव गर्न नहुने पक्ष बलियो रहेको नेताहरू बताउँछन्।
त्यसो त तीन दिनअगाडि मात्रै मोरङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको थियो । दुई दिनसम्म प्रतिनिधिलाई विराटनगरमा राखेर सहमति नभएपछि घर पठाइएको थियो । ९९ सदस्य जिल्ला कमिटी छान्न नेकपा एसलाई झन्डै १ हप्ता लागेको थियो ।
छैटौँ दिन कोठाबाट नयाँ नेतृत्व घोषणा गरिएको थियो । घोषणा गरिएका केही जिल्ला सदस्यले भने राजीनामा दिन थालेका छन् । टिके प्रथाबाट नेतृत्व छानेको भन्दै युवाहरूले राजीनामा दिएका हुन् । प्रदेश अधिवेशनमा पनि त्यही प्रक्रिया अवलम्बन गर्ने नेताहरूको तयारी रहेको स्रोतले बतायो ।