२४ जेठ २०८३, आइतबार

कलैया उपमहानगरका तत्कालीन प्रशासकीय अधिकृतसिहत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत २६, २०८१
काठमाडौं
कलैया उपमहानगरका तत्कालीन प्रशासकीय अधिकृतसिहत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर देवी फर्माका सञ्चालक विमलेश शाहविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । 

आर्थिक वर्ष २०७७।०७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधिविपरीत काम गरी ५१ लाख ९९ हजार १२० रूपैयाँ बढी भुक्तानी दिएको आयोगले जनाएको छ । 

२०७७ मंसिर १९ गतेको टिप्पणी निर्णयबाट सेनिटरी प्याडको अस्वाभाविक मूल्य प्रतिप्याकेट ७९.१ रूपैयाँ कायम गरी लागत इस्टिमेट स्वीकृत गराएको, राष्ट्रसेवकसँगको आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेश गरी/गराई प्रतिप्याकेट मूल्य ७८ रूपैयाँ कायम गरी ठेक्का दिएको आयोगको आरोप छ ।

आर्थिक वर्ष २०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रूपैयाँमा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रूपैयाँको दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० बढी भुक्तानी गरेको हुँदा प्रहलाद प्रसाद वर्णवाल, विजय अधिकारी, राजेश ठाकुर हजाम र दिव्या सर्राफलाई सोही बराबरको बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय गर्न माग गरिएको  छ। 

यसैगरी, सागर देवी फर्मा, हेटौँडा तथा उक्त फर्माका सञ्चाल विमलेश शाहले राष्ट्रसेवकसँगको मिलोमतोमा आर्थिक वर्ग २०७७/७८ को लागि सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेटमा ५४ रूपैयाँको दरले ९६ हजार २८० प्याकेटको ५१ लाख ९९ हजार १२० बढी भुक्तानी लिएको देखिएको उनीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्