२४ जेठ २०८३, आइतबार

कोशीको स्वास्थ्य मन्त्रालयले असुल गर्‍यो ५३ लाख बेरुजू

चैत २६, २०८१
विराटनगर
कोशीको स्वास्थ्य मन्त्रालयले असुल गर्‍यो ५३ लाख बेरुजू

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले ५३ लाख १ हजार १२ रूपैयाँ बेरुजू असुल गरेको छ ।  असुल गर्नुपर्ने २ करोड २३ लाख ३९ हजार २७१ रूपैयाँ रहेकोमा मन्त्रालयले अब १ करोड ७० लाख ३८ हजार २५९ रूपैयाँ असुल गर्न बाँकी देखिएको छ । 

मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म ३९ करोड ४७ लाख ९४ हजार ७९६ रूपैयाँ बेरुजू नियमित गर्नुपर्नेमा १३ करोड ८५ लाख २३ हजार ९६८ रूपैयाँ नियमित गरेको छ । यस्तै, नियमित गर्न बाँकी रकम अझै २५ करोड ६२ लाख २३ हजार ८६८ रूपैयाँ रहेको छ । 

स्वास्थ्य मन्त्रालय अन्तर्गत १४ वटा जिल्ला स्वास्थ्य कार्यालय, १३ वटा जिल्ला अस्पताल, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी ट्रमा सेन्टर, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर,  १४ वटा आयुर्वेदिक स्वास्थ्य केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र तालिम केन्द्र धनकुटा छन् ।

स्वास्थ्य कार्यालय पाँचथर, ताप्लेजुङ, धनकुटा, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, आयुर्वेद स्वास्थ्य केन्द्र इलामलगायतले भने बेरुजू घटाएका छैनन् ।

स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बाँकी रहेको असुल गर्नुपर्ने बेरुजूलाई असार मसान्तसम्ममा शून्यमा झार्ने दाबी गरे । मन्त्री राईले स्वास्थ्य र भौतिक मन्त्रालय समालेका छन् ।  भौतिकमा आर्थिक वर्ष २०८०/८१ सम्ममा मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयले असुल गर्नुपर्ने बेरुजू ३६ करोड ५१ लाख ७४ हजार ९४० रूपैयाँ थियो । सोमध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रूपैयाँ बेरुजू असुल भइसकेको छ । भौतिकमा ५१ प्रतिशत असुली भएको उनले दाबी गरेका छन् । 
 
असुल गर्नुपर्ने बेरुजू सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालय मोरङको थियो । उक्त कार्यालयमा १८ करोड ६२ लाख ९३ हजार २३५ रूपैयाँ थियो । जसमध्ये सो कार्यालयले १६ करोड १६ लाख ९४ हजार रूपैयाँ असुल गरेको छ ।

यस्तै, यातायात पूर्वाधार विकास कार्यालय मोरङ, पूर्वाधार विकास कार्यालय पाँचथर, पूर्वाधार विकास कार्यालय संखुवासभाले भने बेरुजू असुल गर्नै सकेका छैनन् । ती कार्यालयमा असुल गर्नुपर्ने बेरुजू क्रमशः २ करोड ३६ लाख, ६ करोड १३ लाख, ९२ लाख र ७ लाख ७७ हजार रूपैयाँ छ ।

सो मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजू रकम १ अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रूपैयाँ रहेको छ । जसमध्ये २१ करोड २० लाख ३० हजार ६८४ रूपैयाँ नियमित भएको मन्त्री राईले बताए । सुशासनलाई प्राथमिकता दिएको उनले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्