
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
देशभरका सामुदायिक विद्यालयका करिब १५ हजारको हाराहारी शिक्षक काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । प्रतिनिधि सभामा विचाराधीन शिक्षा विधेयकमा समावेश गरिनुपर्ने भन्दै अघि सारिएका २२ बुँदामध्ये कतिपय तत्काल सम्बोधन गर्न नसकिने खालका छन् ।
अस्थायी शिक्षकको स्थायीकरणदेखि तलब समानता, निवृत्तिभरण र विभागीय कारबाहीको व्यवस्थासम्मका माग बोकेर शिक्षकहरूले सरकारलाई दबाब दिन आन्दोलनको बाटो रोजेका हुन् । तर, यी मागहरूको प्रकृति र कार्यान्वयनको जटिलताका कारण सरकारले उपयुक्त समाधान निकाल्न सकेको छैन । २२ मध्ये केही माग पूरा गर्न संविधान संशोधन गर्नेदेखि अर्बौंको बजेट व्यवस्थापन आवश्यक पर्ने सरकारको लेखाजोखा छ ।
महासंघले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायीकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरहद नलगाई स्थायी गर्नुपर्ने उनीहरूको माग छ । अर्थतन्त्र कमजोर बनेको र विकास खर्च जुटाउन हम्मेहम्मे भएकाले शिक्षकको माग पूरा गर्नका लागि चाहिने खर्च जुटाउन नसक्ने अवस्थामा रहेको सरकारको भनाइ छ । महासंघले अघि सारेको २२ बुँदे मागमध्ये आधा दर्जन माग संविधान संशोधनसँग सम्बन्धित छन् । ती मागहरू संविधानको अनुसूची ८ र ९ सँग बाझिने खालका छन् ।
०००
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि मन्त्रालयमा बोलाएको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन् । वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन जारी छ । मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरूसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो । तर उक्त छलफल तथा परामर्श भने हुन सकेको थिएन ।
०००
अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा मंगलबार साँझ एक पसलबाट शुरू भएको आगलागीबाट दुई दर्जन बढी घर जलेको प्रहरीले जनाएको छ । आगलागीबाट बजारका २७ घर जलेको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले लोकान्तरलाई जानकारी दिए । त्यसमध्ये १२ वटा पसल रहेको उनले बताए ।
उनका अनुसार क्षतिको यकिन विवरण आइसकेको छैन । तर, अनुमानित सात करोडको क्षति भएको उनले बताए । ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रूप लिएको उनको भनाइ छ । साँझ ७ बजेतिर लागेको आगो राति १२ बजे मात्रै नियन्त्रणमा लिइएको थियो । साघुरो गल्लीमा दलकलसमेत छिर्न नसक्दा आगो नियन्त्रणमा लिन ढिलो भएको डीएसपी भण्डारीले बताए ।
०००
कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को शुभारम्भमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन् । पर्यटकीय क्षेत्र तीनजुरे क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गर्न प्रधानमन्त्री ओलीले आउनेगरी कार्यक्रम गरे पनि अन्तिम समयमा उनी नआउने भएका हुन् । प्रधानमन्त्री नआउने भएपछि उपप्रधान एवै शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । पर्यटन वर्ष कोशी प्रदेशको गौरवको कार्यक्रम हो । यसका लागि १० करोड बजेट प्रदेश सरकारले छुट्टाएको छ । प्रधानमन्त्री ओलीले आउने भएपछि उनकै नाम राखेर निमन्त्रण पत्र छापिएको थियो ।
यो वर्ष तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेको छैन । उद्घाटनमा ओली आउने भनेपछि गुराँस फुलाउन प्रदेश सरकारले दमकल प्रयोग गरेर पानीसमेत हालेको थियो । गुराँसमा पानी हालेपछि प्रदेश सरकारको चौतर्फी आलोचना भएको थियो । प्रधानमन्त्री आउने भएपछि जङ्गलमै सीसीटीभी क्यामरासमेत जडान गरिएको थियो ।
०००
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा भैरहवा कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । मंगलबार जोशीको स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्स, (यूसीएमएस) भैरहवामा भर्ना गरिएको कारागार कार्यालय रुपन्देहीले जनाएको छ । पूर्वडीआईजी जोशी पहिल्यैदेखि बिरामी थिए ।
उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको कारागार प्रशासनले जनाएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपेन्देही जिल्ला अदालतले जोशीलाई माघ २८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनी सोही दिन नै कारागार चलान भएका थिए ।
०००
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप १५ दिनको म्याद दिएको हो ।
यी २० जनासहित ५३ जनामाथि आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। यी दुई मुद्दामा अनुसन्धान गर्न अदालतले २० दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ। चैत १५ मा भएको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपीहरूलाई अहिले पनि प्रहरीले पक्राउ गर्दै आएको छ ।
०००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्र बनाउन आफूहरू विद्रोहको बाटो हिँड्न पनि तयार रहेको बताएका छन् । राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकारले चाहे आफूहरू विद्रोहको बाटो हिँड्ने बताएका हुन् । ‘हामी शान्ति चाहन्छौँ । शान्तिपूर्वक ढंगबाट आफ्नो माग मुद्दालाई स्थापित गर्न चाहन्छौँ । तर, सरकारले राप्रपाले विद्रोह गरोस् भनेर चाहन्छ भने हामी सल्लाह गरेर त्यो बाटो हिँड्न तयार छौँ,’ लिङ्देनले भने ।
उनले माओवादी जनयुद्धको स्मरण गर्दै सरकारलाई त्यसखालका द्वन्द्व स्वीकार हो ? भनेर प्रश्न गरेका थिए । ‘माओवादीको जनयुद्ध तपाईंहरू सबैलाई थाहा छ । एउटा भरुवा बन्दुक बोकेर शुरू गरेको माओवादीले कांग्रेस, एमालेलाई के गरेको थियो ? स्मरण गर्नुस् । अनि अझै हामी जंगल पसोस् भनेर चाहनुहुन्छ ?,’ उनले प्रश्न गरे । अध्यक्ष लिङ्देनले आफ्ना नेताहरू पक्राउ परेको विषयलाई इखको रूपमा लिएको बताए ।
०००
देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । आज कोशी र मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थान र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । काठमाडौंमा पनि आज अपराह्नपछि हल्का वर्षाको सम्भावना छ । आजभन्दा भोलि वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
०००
आइसीसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्गलबार यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी हुनेछन् । घरेलु टोली नेपालले पहिलो खेलमा चैत ३१ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानले मङ्गलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । भट्टको कप्तानी रहेको टोलीमा अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । साथै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, बिपीनप्रसाद शर्मा टोलीमा छन् । प्रतियोगिताका सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन् ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । अब चीनमाथिको कूल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४ प्रतिशत आयात शुल्क लाग्नेछ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, 'चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।'
आफ्नो दोस्रो कार्यकालको शुरूमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । यसपछि, जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे, चीनमा थप ३४ प्रतिशत कर लगाइयो। अब ५० प्रतिशत भन्सार महसुलपछि कुल आयात महसुल १०४ प्रतिशत पुगेको हो । ट्रम्पले सोमबार नै भनेका थिए कि यदि चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा उसले चीनमाथि थप ५० प्रतिशत कर लगाउनेछ। ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी 'ब्ल्याकमेल' स्वीकार नगर्ने र यसको विरुद्ध अन्त्यसम्म लड्ने बताएको छ।