
विराटनगरमा श्रृंखलाबद्ध रूपमा मोटरसाइकल चोरी गरेर भारतीय बजारमा बिक्री वितरण गर्ने गरेको खुलेको छ । चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेसँगै विराटनगरमा चोरी भएका मोटरसाइकल सीमाभारी भारतीय बजारमा लगेर बेच्ने गरेको रहस्य खुलेको हो ।
मोटरसाइकल चोरी गिरोहमा सक्रिय विराटनगर-१७ का २४ वर्षीय नौसाद अन्सारी सोही ठाउँका १७ वर्षीय मो. सोयल आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका नौसाद मोटरसाइकल चोरी आरोपमा पहिले पनि पक्राउ परिसकेका पटके अपराधी हुन् । उनले विराटनगरको व्यस्त बजारमा राखिएको पार्किङ स्थलबाट पुरानो खालको मोटरसाइकल चोरी गर्ने र भारतमा पुर्याएर बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता, डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए।
उनका अनुसार नौसादले चैत महिनामा मात्रै ११ वटा मोटरसाइकल चोरेर भारतीय बजारमा बिक्री गरेको पाइएको छ । ११ मध्ये प्रहरीले ६ वटा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले उनीहरूलाई मंगलबार विराटनगर-७ अस्पताल चोकमा कपडा पसल अगाडि पार्किङ गरेको प्र १–०–२०४१ प ०३४० कालो रातो रङको होन्डा सीबी साइन मोटरसाइकल चोरी गर्ने क्रममा पक्राउ गरेको डीएसपी जोशीले बताए । पक्राउपछि गरिएको सोधपुछमा उनीहरूले थप ५ वटा मोटरसाइकल भारतमा बिक्री गरेको खुलासा भएको छ ।
‘त्यसपछि बिक्री गरेका पाँच वटा मोटरसाइकल पनि नेपाल–भारतको सीमा क्षेत्र दरैया र टिकुलिया क्षेत्रबाट बरामद गरिएको हो’, डीएसपी जोशीले भने, ‘चोरी गरेको मोटरसाइकल भारतमा लगेर बिक्री वितरण गरेको पाइएको छ । त्यसपछि पीडितलाई फोन गरेर नौसादले फिरौती रकम पनि माग गरेको पाइएको छ ।’

सीसीटीभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको उनले बताए । ‘मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यसक्रममा मोटरसाइकल चोरी भएका केही सार्वजनिक स्थानका सीसीटीभीको दृश्य प्रहरीले अध्ययन गरेको थियो’, डीएसपी जोशीले भने, ‘चोरी गर्नेलाई पक्राउ गर्न सीसीटीभी फुटेजले ठूलो सहयोग पुर्यायो ।’
अनुसन्धानबाट नेपालमा चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फालेर भारत लैजाने गरेको पाइएको छ। ‘नयाँभन्दा पनि पुरानो खालको मोटरसाइकल चोरी गर्ने गरेको पाइएको छ । पुरानो मोटरसाइकलको लक तोड्न सजिलो हुने भएकोले पुरानो रोज्ने गरेका रहेछन्’, डीएसपी जोशीले भने ।