
युथ एक दिवसीय शृङ्खला अन्तर्गत अफगानिस्तानको यू-१९ क्रिकेट टोलीविरुद्धको अन्तिम खेलमा नेपालले जीत हात पारेको छ । बुधबार भएको अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपाल यू–१९ले सान्त्वना जीत हात पारेको हो ।
बुधबार अफगानिस्तानलाई नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डीएलएस विधिबाट नेपालले जीत हात पार्यो । अफगानिस्तानले २० दशमलव १ ओभरमा आफ्नो ६ विकेट गुमाउँदै ४६ रन बनाएको थियो ।
अफगानिस्तानका लागि फैसल शिनोजादाले १६, अजीजुल्लाह मिया खिलले १५, कप्तान महबुब खानले ८, बरकत इब्राहिमजाइले ५ र नाजिफुल्लाह अमिरीले एक रन जोडे । अफगानिस्तानले अतिरिक्त एक रन प्राप्त गर्यो ।
नेपालका लागि अपराजित पौडेलले दुई विकेट हात पार्दा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले समान एक/एक विकेट हात पारे ।
त्यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो ।
तीन खेलको शृङ्खला भने अफगानिस्तानले २–१ ले जितेको छ । पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने दोस्रो खेलमा पनि अफगानिस्तानले नेपाललाई एक रनले हराएको थियो ।