
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कार्यालय कैलालीका प्रमुख स्टोर सहायक तह-५ (प्र.)मा कार्यरत प्रेमबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावलविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनको शैक्षिक प्रमाणपत्र नक्कली भएकोले भन्ने उजुरीपछि आयोगले अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन यूपीको हाइस्कूल परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा स्टोर सहायक तह-४ पदमा नियुक्ति लिई बढुवा भई प्रमुख स्टोर सहायक तह-५ को सुविधा प्राप्त गरेको देखिएकोले उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवानाको माग गर्दै आयोगले विशेषमा आरोपपत्र दायर गरेको हो ।